काठमाडौं – नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको बताएकी छिन् । राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवलाई सम्बाेधन गर्दै उनले यस्तो बताएकी हुन् । मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवम् बैंकिङ्ग क्षेत्रबाट प्रवाहित कर्जा बिस्तारले समेत गति लिन थालेको ढुंगानाले बताइन् ।
साथै, ‘चालु आर्थिक वर्षको दोस्रो त्रयमासको आर्थिक वृद्धिको तथ्याङ्कले समेत यसको पुष्टि गरेको छ । पछिल्लो समय भएका कानुनी सुधारले लगानीको वातावरण सहज बनाएको छ । यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा छ’ ढुंगानाले भनिन् ।
साथै, नेपालको बाह्य क्षेत्र सबल हुँदै गएको छ । विगत दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको छ । विप्रेषण आप्रवाह र पर्यटन आयमा वृद्धि भएका कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय सञ्चिति बढेको उनकाे भनाइ छ ।
वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको बिस्तारमा पछिल्लो समय उल्लेख्य प्रगति भएकाे उनले दाबी गरिन् । देशका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ भने उल्लेख्य रूपमा भएको शाखा विस्तारका कारण वित्तीय पहुँचमा वृद्धि भएको उनले बताइन् ।
‘यस बैंकले गरेको नीतिगत सहजीकरण, पूर्वाधार विकास र सुरक्षित, सजिलो एवम् सस्तो भुक्तानी प्रणालीका उपकरणले गर्दा डिजिटल भुक्तानीको प्रयोग उच्च दरमा बढेको छ । अन्तरदेशीय भुक्तानी प्रणालीको अन्तरआबद्धता समेत प्रारम्भ भएको छ ।’ ढुंगानाले भनिन् ।
प्रतिक्रिया