राष्ट्र बैंक ७१ वर्षमा प्रवेश : सबै स्थानीय तहमा बैंकिङ्ग पहुँच, डिजिटल बैंकिङ्गमा छलाङ मार्दै

राष्ट्र बैंक ७१ वर्षमा प्रवेश : सबै स्थानीय तहमा बैंकिङ्ग पहुँच, डिजिटल बैंकिङ्गमा छलाङ मार्दै


काठमाडौं – नेपाल राष्ट्र बैंक ७१ वर्षमा प्रवेश गरेको छ । २०१३ साल वैशाख १४ गते स्थापना भएको केन्द्रीय बैंकले आज ७० औं वार्षिकउत्सव आज मनाउने भएको हो । राष्ट्र बैंकले ७० औं वार्षिकउत्सव मनाउँदै गर्दा सबै स्थानीय तहमा बैंकिङ्ग पहुँच पुगेको छ । राष्ट्र बैंककाअनुसार देशमा वित्तीय पहुँच अभिवृद्धि गर्दै सुदृढ, समावेशी र दिगो बैंकिङ्ग प्रणाली निर्माण गर्ने नेपाल राष्ट्र बैंकको पहलस्वरूप मिति २०८१ मा बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडको शाखा विस्तार भएसँगै अब देशका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको हो ।

यस अवधिमा नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तनीमा पनि फड्को मारेको छ । बैंकिङ्ग क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाबाट हुने डिजिटल कारोबार बढेको छ । साथै, बैंकिङ्ग तथा वित्तीय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्ने, सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणाली विकास गर्ने, बैंकिङ्ग तथा वित्तीय प्रणालीको नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने, देशको समग्र बैंकिङ्ग तथा वित्तीय प्रणालीको संवर्द्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने काम पनि राष्ट्र बैंकले गर्दै आइरहेको छ ।

यस अवसरमा राष्ट्र बैंककी कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले शुभकामना व्यक्त गरेकी छिन् । उनले शुभकामनामार्फत मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।