नेपालका बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेर ८ प्रतिशतसम्म पुगेको छ । यस्तै, प्रवाह भएको कर्जा ‘रिकभरी’ नहुँदा गैह्र बैंकिङ्ग सम्पत्ति बढेर ४२ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । बैंकको तरलता साढे ६ खर्ब रुपैयाँभन्दा माथि रहेपनि कतिपय बैंकले मागअनुरुपको कर्जा वितरणमा सकस भोगिरहेका छन् । आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा र पुँजीगत खर्च लक्ष्यअनुरूप खर्च नहुँदा बैंक तथा वित्तीय संस्थाबाट कर्जाको माग समेत बढ्न सकेको छैन ।
यद्यपि, पछिल्लो तथ्यांकले कर्जामा सामान्य वृद्धि भएको देखाउँछ । यस्तै, बजारमा कर्णाली विकास बैंक जस्तै अन्य बैंक तथा वित्तीय संस्थामा समेत समस्या आइपर्नसक्ने हल्ला फैलिएको छ । यही र यीनै विषयसँग सम्बन्धित रहेर नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता रामु पौडेलसँग बैंकिङ्ग बहसमा गरिएकाे कुराकानीको सम्पादित अंश:
यतिबेला देशको बैंकिङ्ग तथा वित्तीय क्षेत्र कस्तो अवस्थामा छ ? नेपाल राष्ट्र बैंकको नजरले कस्तो देखाउँछ ?
अहिले देशको वित्तीय प्रणालीमा बैंक तथा वित्तीय संस्थाको महत्त्वपूर्ण भूमिका रहेको छ । बैंक तथा वित्तीय संस्थाको सम्पत्ति र दायित्व हेर्ने हो भने पनि ८० प्रतिशत योगदान यो क्षेत्रको वित्तीय प्रणालीमा छ । त्यसमध्येमा पनि वाणिज्य बैंकको हिस्सा ८० प्रतिशत हाराहारी छ । यही कारण, बैंकिङ्ग क्षेत्रको अहिलेको अवस्थामा कुरा गर्दा सकारात्मक पक्ष त छँदैछन् । त्यसबाहेक, केही चुनौतीपूर्ण अवस्था समेत केही समयदेखि देखिइरहेका छन् ।
कोभिडपछाडिको केही समयदेखि अर्थतन्त्रमा दबाब कायमै छ । तत्कालीन समयमा अर्थतन्त्रलाई चलायमान बनाउनका लागि लिइएका व्यवस्थाहरू, जुन त्यस समयमा आवश्यक थियो । यसबाहेक, रुस–युक्रेन, पश्चिम एसियाको अशान्ति, व्यापार युद्ध लगायत विषयले बैंकिङ्ग क्षेत्रमा चुनौती थपिरहेको छ ।

व्यापार युद्धको प्रभाव नै परिसक्या छ र ? यसको त अहिले प्रभाव परिसक्या छैन नि ?
व्यापार युद्धकै बाछिटा नपरिसकेपनि यसको प्रभाव देखिन थालिसकेको छ । अमेरिकाले दिँदै आएको सहायता रोक्दा नेपालले पाउने आर्थिक सहायता प्रभावित परेको छ । यद्यपि, समग्र अवस्थाको कारणले नेपालको बैंकिङ्ग क्षेत्र प्रभावित बनेको छ ।
यसबाहेक, सरकारको पुँजीगत खर्च पर्याप्त मात्रामा हुन नसक्दा राजश्व संकलन लगायतका पक्षमा दबाब देखिन्छ । र, व्यवसायीक वातावरणमा देखिएका केही समस्याका कारण प्रवाहित कर्जा नउठ्दा (रिकभरी) केही बैंकहरुको पूँजीकोषमा दबाब देखिएको छ । तर, बैंकहरुको पूँजीकोषमा दबाब देखिए पनि राष्ट्र बैंकले तोकेको नियमाकीय बफरभन्दा माथि नै छ ।
यी माथिका विषयलाई मध्यनजर गर्दै नेपालको बैंकिङ्ग क्षेत्रमा केही चुनौती हैन, पूर्ण समस्यामा छ भनियो भने कतिकाे सही हुन्छ ?
बैंकिङ्ग क्षेत्रको कुरा गर्दा समग्र बैंकिङ्ग क्षेत्र समस्यामा छैन । चुनौती चाहिँ छ । बैंकिङ्ग क्षेत्रको कुरा गर्दा सबैभन्दा धेरै चासो सर्वसाधारणको निक्षेप फिर्ता आउने स्थिति छ कि छैनमा नै हुन्छ । यस आधारमा निक्षेपकर्ताको निक्षेप पूर्णरुपमा सुरक्षित छ ।
केही वाणिज्य बैंकहरुको ‘ननपर्फमिङ लोन’मा समस्या देखिएको सही हो । बैंकहरुको सरदर एनपीएल अधिकतम ८ प्रतिशत हाराहारीमा पुगेको छ । तर, यो धेरै उच्च होइन । किनकि, भारत र बंगलादेश लगायतका हेर्यो भने दोहोरो अंकको बिन्दुसम्म एनपीएल पुगेको स्थिति छ ।
तर, दक्षिण एसियाकै ठुलो अर्थतन्त्र भारत, तीव्र आर्थिक वृद्धि गरिरहेको बंगलादेश लगायत मुलुकसँग नेपालजस्तो अर्थतन्त्र भएको देशको एनपीएल तुलना गर्न मिल्छ ? योबाहेक, खराब कर्जा औसतमा ५.०५ प्रतिशत पुगेको छ । ८ प्रतिशतको पूँजीकोष सीमामा पनि दबाब कायमै छ । गैह्रबैकिङ्ग सम्पत्ति ४२ अर्ब रुपैयाँभन्दा माथि छ । यही स्थिति निरन्तर बढ्यो भने समस्या थप बढ्ने हो कि ?
बैंक तथा वित्तीय संस्थाको स्थितिको सबलताको मापन गर्ने एउटा सूचक खराब कर्जा पनि हो । तर, यो महत्त्वपूर्ण होइन । यसको महत्त्वपूर्ण अवस्था चाँहि संस्थाको पूँजीकोषको अवस्थालाई मान्न सकिन्छ । मैले भनिहाले बैंकहरुको पूँजीकोष नेपाल राष्ट्र बैंकले तोकेको कोर क्यापिटल ११ प्रतिशतभन्दा बढी नै छ । यसबाहेक, प्राथमिक पूँजीकोष बफरसहित ८.५ प्रतिशत हुनुपर्नेमा एउटा मात्रै बैंकको तल छ । यहीकारण, बैंक तथा वित्तीय संस्थाको सबलता सूचक मापन गर्ने महत्त्वपूर्ण सूचक पूँजीकोष, तरलता, नेट लिक्विडिटी एसेट हो ।
यी सूचकलाई हामी प्रत्येक दिन ‘मनिटरिङ’ गरेका हुन्छौं । नेपाल राष्ट्र बैंकले नेट लिक्विडिटी एसेट २० प्रतिशत हुनुपर्ने भनेर तोकेकोमा २५/२६ प्रतिशतभन्दा माथि नै छ । ‘सोलभेन्सि रेसियो’ ५ देखि ६ प्रतिशत हाराहारीमा भएमा राम्रो मानिन्छ । राष्ट्र बैंकले तोकेको सोही दरअनुसार यो पाटो पनि सबल छ । यस्तै, बैंकको नाफा र ‘कोल्याट्रल’को पक्ष हेर्दा पनि सबल छ । बैंक तथा वित्तीय संस्थाको ‘लोन लस प्रोभिजनिङ’ समग्र कर्जाको ५ प्रतिशत छ ।
यसकारण, बैंकको कर्जा ‘ननपर्फमिङ लोन’ (एनपीए) जति बढेको छ, त्यसमध्ये बैंकहरुले रिजर्भबाट त्यो बराबरको रकम बफरकारुपमा प्रोभिजनिङ गरेका छन् । कर्जा रिकभरीका कारण चुनौती सिर्जना भएपनि बैंकहरु स्वस्थ र सबल छन् । आर्थिक अवस्था चाहिँ समस्यामा रहँदा बैंक तथा वित्तीय संस्थामा समेत प्रभाव देखिन्छ । पछिल्लो दुई/तीन महिनामा आर्थिक स्थिति सुध्रँदो अवस्थामा देखिन्छ । आयात बढ्दो छ, पूँजीगत खर्च बढ्दो छ र कर्जा समेत बढिरहेको छ ।

कर्जामा केही वृद्धि देखिन थाले पनि सन्तोष मान्नुपर्ने ठाउँ छैन । ब्याजदर घटेर एकल अंकमा आइसक्दा पनि सोचेअनुरूप कर्जा लगानी बढेको छैन । केही समय अघि एकल अंकमा ब्याज आउनुपर्छ भनेर उद्योगी–व्यवसायी सडकमै उत्रिएका थिए । तर, अहिले किन लगानी बढ्न नसकेको होला ?
अहिले कर्जाको ब्याजदर ८ प्रतिशत हाराहारीमा र निक्षेपको ब्याज ५ प्रतिशत हाराहारी छ । यो एकदमै न्यून बिन्दुमा आइसकेको छ । निक्षेपकर्ताको पक्षबाट हेर्दा राम्रो ब्याज पाउन सकेको छैन । तर, ऋणीकाेतर्फबाट हेर्दा यो सुनौलो अवसर हो। यसैले जो नयाँ लगानीकर्ता वा पुरानै लगानीकर्ता हुनुहुन्छ, उहाँहरूको लागि यो उपयुक्त वातावरण हो ।
म लगानीकर्ताहरूलाई यो मौका र अवसर विश्लेषण गरेर नयाँ योजनामा लगानी गर्न सुझाउँछु । यसबाहेक, तपाईँले भनेजस्तो राष्ट्र बैंकले मौद्रिक टूल चलाएर ब्याजदर बढायो भन्नुभयो । राष्ट्र बैंकले त्यसो गरेको पनि होइन । मैले अघि पनि भनिसकेँ राष्ट्र बैंकले तथ्य र तथ्यांकका आधारमा मौद्रिक नीतिका व्यवस्था चलाउँछ । तत्कालिन समयमा राष्ट्र बैंकले अर्थतन्त्र र वित्तीय स्थितिको चुनौती सम्बोधन गर्नका लागि केही नीतिगत व्यवस्था गरेको थियो ।
अहिले देखिएका यी यावत् समस्या र चुनौतीबाट बाहिर निस्कनका लागि नेपाल राष्ट्र बैंकले कस्तो खाका तयार पार्दै छ ?

मौद्रिक नीतिको निर्माण गर्ने, सञ्चालन गर्ने मुख्य काम राष्ट्र बैंकको हो । समग्र आर्थिक नीतिको कार्यान्वयनमा मौद्रिक नीतिको महत्वका साथ जोड दिने खालको हुँदैन । प्रभावशाली र महत्त्वपूर्ण नीति वित्त नीति नै हुन्छ । राष्ट्र बैंकले कर्जासँग सम्बन्धित नीति लिएर अर्थतन्त्र चलायमान बनाउनका लागि कर्जा नीति ल्याउँछ ।
स्रोत सही ढंगले परिचालन नहुँदा र समयमै आयोजनाको निर्माण सम्पन्न नहुँदा समस्या आइरहेको छ । सरकारले नै सुरु गरेका आयोजना समयमा नसकिँदा त्यसबाट आर्थिक गतिविधि बढ्थ्यो नै । यस कारण, वित्त नीति र मौद्रिक नीतिबीच सहकार्य गरेर अघि बढ्नुपर्छ । यसका लागि राष्ट्र बैंक विगतदेखि नै सहकार्यका लागि तयार छ ।
प्रतिक्रिया