बैतडीका स्थानीय तहले सुरु गरे अनलाइन नागरिकता सिफारिस

बैतडीका स्थानीय तहले सुरु गरे अनलाइन नागरिकता सिफारिस


काठमाडाैं – बैतडीका स्थानीय तहहरूले अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिसको प्रक्रिया सुरु गरेका छन् । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार बैतडीका दश स्थानीय तहमध्ये शिवनाथ,पञ्चेश्वर गाउँपालिका तथा मेलौली, पाटन, दशरथचन्द र पुर्चौडी नगरपालिकाले अनलाइनबाट नागरिकता सिफारिसको कार्यान्वयन थालेका छन् ।

प्रजिअ उपाध्यायले अनलाइन प्रणालीमार्फत सिफारिस दिन थालेपछि सेवाग्राहीलाई आवश्यक कागजपत्र अभावको कारण प्रशासन कार्यालयमा पुगेर खाली हात फर्कनु नपर्ने स्थिति बनेको बताए । उनका अनुसार वडाबाटै अनलाइन प्रणालीबाट सिफारिस हुने भएकाले सेवाग्राहीको समय र खर्च समेत बचत हुने विश्वास लिइएको छ ।

पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीका अनुसार अनलाइन प्रणालीमार्फत अभिलेखीकरण सजिलो, सेवा प्रवाह छरितो र प्रविधिमैत्री सेवा सुनिश्चित भएको छ । उनले भने, ‘अब सबै कागजपत्र पुगेपछि मात्रै सेवाग्राही जिल्ला प्रशासन कार्यालय जानेछन् ।’

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले अनलाइन प्रणालीले सेवाग्राहीलाई कागजपत्र पुगे–नपुगेको जानकारी तत्काल वडामै उपलब्ध हुने व्यवस्था मिलाएको बताए । यद्यपि बाँकी स्थानीय तहमा भने इन्टरनेट तथा कर्मचारी अभावका कारण प्रणाली लागू गर्न केही ढिलाइ भएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सबै स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई आवश्यक तालिम दिएर छिट्टै बाँकी पालिकाहरूबाट पनि अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिसको कार्य सुरु गरिनेछ । यस प्रविधिले झुटा विवरणमार्फत नागरिकता लिने सम्भावना रोक्ने र पारदर्शिता बढाउने विश्वास गरिएको छ ।