राष्ट्र बैंकलाई चुनौती दिँदै आएको पोखरा फाइनान्स कारबाहीमा, पुर्व सीईओलाई ५ लाख जरिवाना

राष्ट्र बैंकलाई चुनौती दिँदै आएको पोखरा फाइनान्स कारबाहीमा, पुर्व सीईओलाई ५ लाख जरिवाना


काठमाडौं – नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई कारबाही गरेको छ । राष्ट्र बैंकबाट जारी निर्देशिका पालना नगरेर राष्ट्र बैंकलाई नै चुनौती थप्दै आएको पोखरा फाइनान्सलाई केन्द्रीय बैंकले कारबाही गरेको हो ।

राष्ट्र बैंकले गरेको समष्टिगत स्थलगत निरीक्षणको प्रतिवेदनबाट औंल्याइएका कैफियतहरुका सन्दर्भमा संस्थाको पुर्व प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ्गले आफ्नाे जिम्मेवारी पूरा नगरेको देखिएको हो । राष्ट्र बैंकले पुर्व सीईओलाई स्पष्टिकरण लिँदा पनि सीईओले पेश गरेको स्पष्टिकरण चित्तबुझ्दो नरहेको भन्दै सीईओ गुरुङ्गलाई राष्ट्र बैंक ऐनअनुसार ५ लाख जरिवाना गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

त्यस्तै, राष्ट्र बैंकले २०८१ पुस मसान्तमा संस्थाको निष्कृय कर्जा ३३.४४ प्रतिशत रहेको तथा न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थाको वित्तीय परिसूचकहरु ६ महिना भित्र राष्ट्र बैंकको निर्देशन बमोजिम कायम गर्नुपर्ने शर्त सहित संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमका शीघ्र सुधारात्मक सम्बन्धी कारबाही गरेको छ ।

त्यसैगरी, केन्द्रीय बैंकले संस्थाले २०८१ माघ १३ देखि २६ गते सम्मको अवधिमा नियामकीय व्यवस्थाअनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा विद्यामान व्यस्था बमोजिम ४६ हजार ७१८ रुपैयाँ जरिबाना लगाएको छ ।