डिजिटल प्रविधि र नयाँ सोचको साथ अगाडि बढ्नेछु : नवनियुक्त सीईओ घिमिरे 

डिजिटल प्रविधि र नयाँ सोचको साथ अगाडि बढ्नेछु : नवनियुक्त सीईओ घिमिरे 


काठमाडौं –एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले कार्यभार सम्हाल्दै आफ्नो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित रहने बताएका छन् । आजबाट औपचारिक रूपमा कार्यभार सम्हालेका घिमिरेले डिजिटल प्रविधि र नयाँ सोचको साथ अगाडि बढ्ने बताएका हुन् । 

कार्यभार सम्हाल्दै घिमिरेले भने, ‘मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ । डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौँ ।’

तीन दशक भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध छन् । बैंकको विभिन्न विभाग तथा शाखाहरू समेतको नेतृत्व गर्नु भई कार्य अनुभव हासिल गरेका घिमिरे यस अघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए । 

बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा विशेष रूपले महत्त्वपूर्ण रहँदै आएका छन् । उनले एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ्ग अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाएका छन् । उनको बैंकिङ्ग अनुभवले एनएमबि बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ ।

साथै, आजैबाट बैंकका हालका नायव प्रमुख कार्यकारी अधिकृत  सुदेश उपाध्यायले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् । स्वदेशी तथा विदेशी बैंकहरुमा कार्य गरी कार्य अनुभव प्राप्त गरेका उपाध्याय अन्तर्राष्ट्रिय व्यापार तथा अन्तर्राष्ट्रिय सम्बन्धका साथै बैंकिङ्ग व्यवसाय गहिरो ज्ञान भएका बैंकर मानिन्छ ।