काठमाडौं – सरकारले डा. गुणाकर भट्टलाई गभर्नर बनाउन डेपुटी गभर्नर बमबहादुर मिश्रलाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिने सम्भाव्यता खोजी गर्न थालेको छ । हालकी कार्यवाहक गभर्नर डा. नीलम ढुंगानामाथि दबाब दिँदा समेत डा. भट्टको राजीनामा स्वीकृत नगरेपछि उनको जिम्मेवारी खोसेर मिश्रलाई कार्यवाहकको जिम्मेवारी दिने तयारी सरकारले थालेको हो ।
डा. ढुंगानाले गत साताको शुक्रबार राजीनामा बुझाएका डा.भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् । यससँगै, सरकारले डा. भट्टलाई गभर्नर बनाउनका लागि अन्य विकल्पको खोजीमा लागेको हो । डा. ढुंगानाको टेबुलमा पुगेको कार्यकारी निर्देशक डा.भट्टको राजीनामा कार्यवाहक गभर्नर डा. ढुंगानाले स्वीकृत गरेकी छैनन् ।
‘यससँगै, सरकारले डेपुटी गभर्नर मिश्रलाई गभर्नरको जिम्मेवारी दिएरै भए पनि डा. भट्टको राजीनामा स्वीकृत गराउने तयारी थालेको छ,’ स्रोतले भन्यो । दुई सत्ताधारी राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेले गभर्नर भट्टलाई बनाउने निर्णय गरेको छ । यही प्रतिबद्धताअनुसार भट्टले गत साताको शुक्रबार पदबाट राजीनामा दिइसकेका छन् ।
उनी पदमा नै रहेर गभर्नर बन्न नपाउने भएपछि राजीनामा दिएका थिए । यसविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार नै रिट दर्ता भएको थियो । चर्चा चलेकै भरमा दुई अधिवक्ताहरूले सर्वोच्चमा रिट दायर गरेका थिए । यता विदामा बसेका डेपुटी गभर्नर बमबहादुर मिश्र भने सरकारले आफुलाई सहयोग मागेमा सहजीकरण गर्ने बताउँछन् । सरकारले कार्यवाहक गभर्नर बनाएर राजीनामा स्वीकृत गर्न लगाएमा विदामै भएपनि अनलाईनमार्फत राजीनामा स्वीकृत गरेर सरकारलाई सहजीकरण गर्ने उनको तर्क छ ।
प्रतिक्रिया