९ महिनामा बैंकहरुको नाफा ४१ अर्ब बढी : ११ वटाको नाफामा सुधार हुँदा ९ वटाको घट्याे

९ महिनामा बैंकहरुको नाफा ४१ अर्ब बढी : ११ वटाको नाफामा सुधार हुँदा ९ वटाको घट्याे


काठमाडौं – वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको उक्त रिपोर्टमा वाणिज्य बैंकहरुले ९ महिनामा ४१ अर्ब बढी खुद नाफा आर्जन गरेको देखिएको छ।

सञ्चालनमा आएका २० वाणिज्य बैंकहरुले चैत मसान्तसम्म आइपुग्दा नाफा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले यो पटक नाफामा केही सुधार गरेका हुन्। बैंकहरुले गत आवको सोही अवधिको तुलनामा भने १.४ प्रतिशत नाफा वृद्धि गरेका छन् । गत आवको सो अवधिमा बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख बढी नाफा कमाएका थिए ।

यो समयमा ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटाको नाफामा गिरावट देखिएको छ । चालु आर्थिक वर्ष नौ महिनाको अवधिमा बढी नाफा कमाउनेको पहिलो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको यस अवधिमा भने बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, यो अवधिमा बढी नाफा कमाउनेको सूचीको दोस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ ।

बैंकले ४ अर्ब ५४ करोड नाफा आर्जन गर्दै आफ्नो पोजिसनमा सुधार गरेको हो । यता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नाफामा उछिन्दा ग्लोबल आईएमई बैंक भने तेस्रो स्थानमा पुगेको छ । यस समयमा ग्लोबलले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै, चौथो नम्बरमा आएको एभरेष्ट बैंकले समीक्षा अवधिमा ३९.८७ प्रतिशतले वृद्धि गरी ३ अर्ब ४० करोड, माछापुच्छ्रेले २८.८९ प्रतिशतले वृद्धि गरी १ अर्ब १० करोड खुद नाफा आर्जन गरेको छ । यो अवधिमा धेरै नाफा वृद्धि गर्नेमा नेपाल बैंक, एनआइएमबि, ग्लोबल, एभरेष्ट, माछापुच्छ्रे अगाडी रहेका छन् ।

यस समयावधिमा सानिमा बैंकले २१.३९ प्रतिशतले वृद्धि गरी १ अर्ब ६९ करोड, नेपाल एसबीआईले ११.९५ प्रतिशतले वृद्धि गरी १ अर्ब ३० करोड, एनएमबि बैंकले ५.८८ प्रतिशतले वृद्धि गरी २ अर्ब ३७ करोड, प्रभुले ३.५१ प्रतिशतले वृद्धि गरी १ अर्ब ८७ करोड र लक्ष्मी सनराइज बैंकले २.२४ प्रतिशतले वृद्धि गरी १ अर्ब ६५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा नाफामा गिरावट आउने बैंकहरुमा एनआईसी एशिया, हिमालयन, राष्ट्रिय वाणिज्य, कुमारी, प्राइम, सिटिजन्स, स्याण्डर्ड चार्टर्ड, कृषि विकास, सिद्धार्थ बैंक रहेका छन् । यस समयमा सबैभन्दा धेरै नाफा घट्ने बैंकका एनआइसी एशिया रहेको छ । बैंकको नाफा ९१.८१ प्रतिशत घटेर १५ करोड ६७ लाख रुपैयाँमा कायम भएको छ । यता हिमालयन बैंकको नाफामा पनि ७४.३३ प्रतिशतको गिरावट आउँदा ५० करोडमा सिमित भएको छ । यस्तै कुमारी बैंकको नाफा ७२.८१ प्रतिशतले घटेको छ भने बैंकले २८ करोड ५८ लाख नाफा कमाएको छ । सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको पनि नाफा ४९.२८ प्रतिशत घटेको छ । समिक्षा अवधिमा बैंकले १ अर्ब २० करोड ४३ लाख रुपैयाँ नाफा कमाएको छ ।

समिक्षा अवधिमा प्राइम बैंकको नाफामा पनि २२.५६ प्रतिशत गिरावट आएको छ । बैंकले यस समयमा २ अर्ब २२ करोड कमाएको छ । त्यस्तै, सिटिजन्सको नाफा २०.६० प्रतिशतले घटेर ९६ करोड, स्ट्याण्डर्ड चार्टर्डको ११.१७ प्रतिशतले घटेर २ अर्ब १७ करोड, कृषि विकासको १०.१७ प्रतिशतले घटेर १ अर्ब ८४ करोड र सिद्धार्थ बैंकको १.१९ प्रतिशतले घटेर १ अर्ब ६० करोड रुपैयाँमा सिमित भएको छ।