लिलाम बिक्री नहुँदा समस्यामा बैंक, गैह्रबैंकिङ्ग सम्पत्ति ४२ अर्ब माथि

लिलाम बिक्री नहुँदा समस्यामा बैंक, गैह्रबैंकिङ्ग सम्पत्ति ४२ अर्ब माथि


काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुको गैह्रबैंकिङ्ग सम्पत्ति ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो एक वर्षको समयमा बैंकहरुको गैह्रबैंकिङ्ग सम्पत्ति ७५ प्रतिशतले बढेको बताएको हो ।

राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थि वर्षको फागुनसम्मको तथ्यांकले बैंकहरुको गैह्रबैंकिङ्ग सम्पत्ति ४२ अर्ब ५ करोड बढी पुगेको छ । एक वर्षको समयमा भने गैह्रबैंकिङ्ग सम्पत्ति १८ अर्ब ९ करोडले थपिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

ऋणीहरूले कर्जा समयमा नतिरेपछि बैंकहरुले धितो लिलामी गर्ने गर्छन् । आर्थिक मन्दी नहट्दा बैंकका ऋणीहरूले कर्जा तिर्न नसकेको अवस्थामा बैंकहरुले धितो अचल सम्पत्ति सकार्न र लिलामीको चाप परेको हो । यता बैंकहरु ऋणीबाट लिलामी गरेको धितो नै बेच्न नसकेर तनावमा छन् । धितो बिक्री नहुँदा बैंकहरुको गैह्रबैंकिङ्ग सम्पत्ति बढ्ने क्रम रोकिएको छैन ।

गैह्रबैंकिङ्ग सम्पत्ति बढ्दै जाँदा बैंकिङ्ग क्षेत्रमा एक किसिमको तनाव नै सिर्जना भएको छ । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) बढ्दै जाँदा पनि गैह्रबैंकिङ्ग सम्पत्ति पनि निरन्तर बढिरहेको छ । त्यस्तै, एक वर्षकाे समयमा बैंक तथा वित्तीय संस्थाहरुको औसत खराब कर्जा १.१९ प्रतिशतले बिन्दुले बढेको छ । गत वर्षको फागुनसम्म ३.७३ प्रतिशत रहेको औसत खराब कर्जा यो वर्षको फागुनसम्म आइपुग्दा ४.९२ प्रतिशत पुगेको हो ।