काडमाडौं – नेपालमा प्रतिबन्धका बाबजुद क्रिप्टोकरेन्सी कारोबार गर्नेहरूको संख्या बढ्दै जान थालेको छ । नेपाल प्रहरीको एक वर्षको तथ्यांकले नेपालमा क्रिप्टोकारोबारीको संख्यासँगै संलग्न नेपालीहरूको संख्या समेत बढ्न थालेको हो । नेपालमा वैधरुपमा क्रिप्टो कारोबारको अनुमति छैन । सरकारले क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध भनेको छ । यही आधारमा नेपाल राष्ट्र बैंकले समेत क्रिप्टोकरेन्सी कारोबार गर्न नमिल्ने वस्तुको सूचीमा राखेको छ ।
तर, सरकारी तवरबाट भइरहेको औपचारिकतालाई लत्त्याउँदै कारोबारीले अर्बौँ रुपैयाँभन्दा बढीको कारोबार गर्ने गरेका छन् । प्रहरीले २०८१ मा मात्रै ५ वटा यस्ता घटनामा अनुसन्धान अघि बढाएको छ । यसमा संलग्न कयौँलाई अवैध कारोबारसँग सम्बन्धित मुद्दा लगाएको छ । पक्राउ पर्ने र घटनामा संलग्नहरूको कारोबार ‘रेकर्ड’बाट अर्बौँ कारोबार गरेको समेत भेटिन्छ । तर, प्रहरीले सुक्को रकम भेट्टाउन सकेको छैन ।
केन्द्रीय अनुसन्धान ब्युरोमा मात्र वर्ष २०८१ मा १६ वटाभन्दा बढी आर्थिक अपराधसँग सम्बन्धित घटनामा अनुसन्धान गरेकामा सबैभन्दा बढी किप्टोकारोबारसँग सम्बन्धित छ । तथ्यांकअनुसार गत वर्ष क्रिप्टो कारोबारसँग सम्बन्धित ५ वटा घटनामा सीआईबीले अनुसन्धान गरेको छ । यस्तै, सहकारीको रकम हिनामिनामा तीन मुद्दा, भन्सार छलीसँग सम्बन्धित तीन, अनलाईन सट्टेबजीसँग सम्बन्धित २ वटा, चोरी र नक्कली नोट कारोबारसँग सम्बन्धित एउटा मुद्दा अघि बढाएको हो ।
बढ्दैछ किप्टो कारोबार
गत वर्ष सीआईबीले क्रिप्टो कारोबारसँग सम्बन्धित ५ वटा घटना फेला पारेको थियो । जसमध्ये जेठमा क्रिप्टो कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले एउटा सिभर, ६४ वटा किप्टो कारोबार भई रहेका कम्प्युटर बरामद गरेको थियो । यस्तै, भदौ क्रिप्टो कारोबारमा नै संलग्न भएको आरोपमा तीन जना विदेशी नागरिकसहित कूल ५३ जना पक्राउ परेका थिए ।
५० जना नेपाली पक्राउ परेको समूहले ललितपुरको एकान्त कुनामा घर भाडामा लिएर नेपाली युवायुवतीलाई धेरै आम्दानी हुने प्रलोभन देखाई गैर कानुनी काममा लगाएका थिए । भदौमा नै गत भदौ ब्युरोको टोलीले किप्टो कारोबारमा संलग्न पूर्व नवलपरासीको प्रज्ञान रिमाल र बागलुङको आयुष शर्मा पक्राउ गरेको थियो । उनीहरूको साथबाट ब्युरो ३ थान कम्प्युटर र २ थान मोबाइल बरामद गरेको थियो ।
यसैगरी, माघमा सङ्गठित रूपमा ठगी तथा क्रिप्टो कारोबार गरेको आरोपमा थप ७ जना पक्राउ परेका थिए । उनीहरूको साथबाट प्रहरीले २ थान कम्प्युटर, १३ थान मोबाइल, विभिन्न व्यक्तिहरूको नाममा जारी भएको विभिन्न बैंकको चेक १९ थान र नगद ५ लाख ५० हजार रुपैयाँ बरामद गरिएको थियो । यस्तै, माघमा नै अभौतिक मुद्रा तथा अनलाइन ठगी गरेको अभियोगमा रौतहट घर भई भक्तपुर बसोबास गर्दै आएका सुभम शाहलाई पक्राउ गरेको थियो । उसको साथबाट प्रहरीले २ थान मोबाइल, ९ वटा सिम कार्ड लगायत बरामद गरेको थियो ।
सहकारीको रकम हिनामिना
गत वर्षको जेठ महिनामा स्क्कायर सहकारीको रकम हिनामिना गरेको अभियोगमा सञ्चालाकहरुलाई पक्राउ गरिएको थियो । निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम, सरकारी मुद्दती निक्षेप आवधिकबचत सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक त्रैमासिक वार्षिक रूपमा पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपकर्ताहरुको सम्पूर्ण सावाँ र व्याजहरू फिर्ता नदिई पटक पटक ताकेता दिँदा पनि बचतकर्ताको रकम फिर्ता नगरेकाले सहकारीका सञ्चालकहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूले बचतकर्ताहरूको सात करोड चालीस लाख सतासी हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा सञ्चालक समितिका अध्यक्ष वासुदेव मान जोशी सहित ३ जना लाई पक्राउ गरी अनुसन्धान गरेको थियो । जेठ महिनाको २८ गते पूर्ण बैंकिङ्ग कसुरमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं भक्तपुर र ललितपुरमा सञ्चालित देउराली बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्ष तथा पूजा ग्रुपको सञ्चालक रवीन्द्र चौलागाईँ लगायतलाई पक्राउ गरेको थियो । प्रभु बैंकले गाभेको सेन्चुरीका तत्कालीन प्रमुख कार्यकारी समेत अनुसन्धानमा तानिएका थिए ।
उनीहरूले नक्कली कर चुक्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि करको कागज लगायत बनाएर ठगी गरेको पाइएको थियो । भदौमा एभरेट्रष्ट बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको अपरोपमा पाँच जना लाई पक्राउ गरेको थियो । बचतकर्ताले जम्मा गरेको निक्षेप रकम प्रचलित कानुन विपरीत कर्जा र सम्पत्तिहरूमा गैर कानुनी रूपमा लगानी गर्ने संस्थाको वास्तविक अवस्था लुकाई संस्थामा रहेको रकम व्यक्तिगत लाभमा प्रयोग गरी संस्थालाई हानी पुर्याएको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको थियो । संस्थाले बचतकर्ताको पन्ध्र करोड एकानब्बे लाख चार हजार रुपैयाँ बराबरको रकम अपचलन गरेको थियो ।
सट्टेबाजी खेलाउने प्रहरी फन्दामा
गत असारमा अनलाइन क्यासिनो मार्फत सट्टेबाजी खेलाएको अभियोगमा वुल्फ ७७७ अनलाइन क्यासिनोका सञ्चालकहरूलाई पक्राउ गरेको थियो । क्यासिनोका सञ्चालकहरूले बैंक खाताको क्युआर कोड सामाजिक सञ्जाल मार्फत पठाई अनलाइन जुवा खेलाई हारजित हुने गरी करिब दुई महिनादेखी २४ करोड बराबरको रकम अनलाइन कारोबार गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको थियो । यस्तै, मसिंरमा नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेलाउने ४ जनालाई ब्युरोले पक्राउ गरेको थियो।
नक्कली नोट कारोबार
गत कात्तिक २१ गते भक्तपुरबाट १ हजार र ५ सयकाे नक्कली नोटसहित सोहिल शाक्य पक्राउ परेका थिए । उनको साथबाट प्रहरीले ११३ वटा १ हजारकाे नाेट र २८ वटा ५ सय रुपैयाँको नक्कली नोट बरामद गरेको थियो ।
प्रतिक्रिया