काठमाडौं – प्रभु बैंकले सेवाग्राहीलाई सूचना नै नदिएर मोबाइल बैंकिङ्गको ‘रिन्यूअल’ शुल्क बढाएको पाइएको छ । बैंकले आफ्नो सेवाग्राहीलाई पूर्व सूचना नै नदिएर मोबाइल बैंकिङ्गको वार्षिक नवीकरण शुल्क १०० रुपैयाँसम्म बढाएको हो ।
सामान्यतया, सेवाग्राहीलाई मोबाइल बैंकिङ्ग नवीकरण गर्नुअघि बैंकहरुले सूचना प्रवाह गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले यसबारे स्पष्ट व्यवस्था नै गरेको छ । बैंकहरुको सम्बन्धित शाखाले आफ्नो सेवाग्राहीको मोबाइल बैंकिङ्ग नवीकरण गर्नुअघि फर्म भर्न लगाउनुपर्ने वा यसबारे जानकारी दिनुपर्ने हुन्छ ।
तर, प्रभु बैंकले पूर्व सूचना नै नदिएर खाताबाट धमाधम पैसा काटेर स्वतः मोबाइल बैंकिङ्ग नविकरण गरेको शुसान्त सिञ्चुरीले बैंकिङ्ग समाचारलाई बताए । मोबाइल बैंकिङ्ग नवीकरणअघि बैंकले कुनै पनि अनुमति नलिएको सिञ्चुरीको भनाइ छ ।

प्रभु बैंकले सेवाग्राहीमाथि गरेको बदमासी यतिमा मात्रै सीमित छैन । गत वर्षसम्म एउटा शुल्क लिँदै आएकोमा यो वर्ष एक्कासि नवीकरण शुल्क नै बढाएको छ । त्यो पनि सेवाग्राहीलाई पत्तो नदिएरै । सामान्यतया, बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा बैंकले सेवा दिएबापत लिने शुल्कको जानकारी दिन्छन् ।
प्रभुले पनि यस्तै जानकारी दिएको छ । सन् २०२३ मा वेबसाइटमा अपलोड गरिएको सूचनाअनुसार प्रभु बैंकको मोबाइल बैंकको वार्षिक नवीकरण शुल्क ३०० रुपैयाँ छ । तर, बैंकले सेवाग्राहीको खाताबाट अनुमति र पूर्व सूचना विनै धमाधम ४०० रुपैयाँ काटिरहेको छ ।

यसबारे प्रभु बैंकसँग बुझ्दा केही समयअघि मोबाइल बैंकिङ्गको नवीकरण शुल्क ३०० रुपैयाँ प्रतिवर्षबाट ३९९ रुपैयाँ पुगेको जानकारी दियो । यसबारे वेबसाइटमा किन अपग्रेड नगरेको भन्ने प्रश्नमा बैंक भन्छन्, ‘बैंकले हालसालै यसबारे निर्णय गरेको हो। वेबसाइटमा राख्नै भ्याइएको छैन ।’

तर, सार्वजनिक कम्पनीकारुपमा सञ्चालित र लाखौँ लगानीकर्ता र बचतकर्तासँग प्रत्यक्ष जोडिने बैंकले यस खालको गैह्र जिम्मेवारपूर्ण हर्कतले सेवाग्राही आजित छन् । यसबारे, राष्ट्र बैंकमा उजुरी नै परे पनि शक्तिको आडमा मुद्दा र उजुरी ढिसमिस पार्ने हैसियत बनाएको प्रभु बैंकले सेवाग्राहीको अनुमतिविनै मोबाइल बैंकिङ्गको शुल्क बढाएर नवीकरण गरेको हो ।
प्रतिक्रिया