बैंक वित्तीय संस्थाका हरेक शाखाबाट ५ वटा पुनरकर्जा अनिवार्य

बैंक वित्तीय संस्थाका हरेक शाखाबाट ५ वटा पुनरकर्जा अनिवार्य


बैकिङ्ग समाचार ।
नेपाल राष्ट्रले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत कोरोना प्रभावित अर्थतन्त्र उकास्नका लागि बैंक वित्तीय संस्थाका हरेक शाखा मार्फत कम्तीमा पनि ५ वटा पुनरकर्जा अनिवार्य गर्ने संकेत गरेको छ ।

कोरोना भाइरसका कारण अस्तव्यस्त भएको अर्थतन्त्रलाई पुनरउत्थान गर्न आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कुनै पनि कन्जुस्याँई नगर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन। आगामी आर्थिक वर्षको मौद्रिक नीतिको सुझाव दिएका बैंक तथा उद्योगीलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले पुनरकर्जालाई परिचालन गर्ने सन्दर्भमा सबै क्षेत्रलाइ समेट्ने गरी नीतिगत व्यवस्थाको प्रयास गरेको बताए ।

“अहिलेको अवस्थामा सबै क्षेत्र प्रभावित भएको हुनाले पुनरकर्जा विशेष गरी साना तथा मझौला उद्यमीका लागि केन्द्रित गरेर बैंक तथा वित्तीय संस्थाका हरेक शाखामार्फत ५ वटा पुनरकर्जा मात्र प्रदान गर्न सकेको खण्डमा पनि धेरैलाइ राहत पुग्नेछ,” गभर्नर अधिकारीले भने,“कोरोनाका कारण असहज अवस्थामा पुगेका हरेक उद्योगी व्यावसायीलाई सहज गराउने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउनेछ ।”

यो अनुसार करिब २७ हजारले पुनरकर्जाको सुविधा लिन सक्छन् । यसबाट साना भन्दा साना ऋणीहरुले लाभ लिन सक्नेछन्।

कोरोना भाइरका कारण आयातमा कमी आउँदा बैदेशिक मुद्रा सञ्चिती प्रयाप्त रहेको हुनाले बाह्य क्षेत्रका लागि सहज अवस्था रहेको समेत उनले बताए । अहिलेको अवस्थामा मौद्रिक नीतिले कारोबारका कारण प्रभावित अन्तरिक अर्थतन्त्रको पुनरउत्थानका लागि हुने आवश्वासन समेत उनले दिए।

त्यसका साथै अहिलेको अवस्थामा अधिकांश उद्योगी, व्यापारी, व्यावसायीहरुलाई धेरै नै असर गरेको बताउदै उनले भने,“सबै खालका कर्जालाई पुनरतालिकीकरण र पुनसंरचना गर्ने भन्ने विषमा केन्द्रीय बैंक गहन छलफल तथा अध्ययनमा छ।” आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कर्जाको पुनरसंरचना र पुनरतालिकिकरणको विषयलाई सम्बोधन गर्ने समेत उनले विश्वस्त पारे । तर, कस्तो कर्जालाई पुनरतालिकिकरण गर्ने, कस्तोलाइ पुनरसंरचना गर्ने, कस्तो कर्जाको प्रोभिजनीङमा लचकता अपनाउने लगायत कर्जाको गुणस्तरको विषयमा केन्द्रीय बैंक गम्भिर भएर अध्ययन गरिरहेको समेत उनले बताए ।

अहिलको अवस्थामा कोरोनाका कारण बन्द रहेका उद्योग ब्यापार, व्यावसायका लागि अन्य समस्या भन्दा पनि वर्किङ क्यापिटलको आवश्यक परेको छ । यस भन्दर्भमा आागमी मौद्रिक नीतिले ब्यवसायको आकार तथा प्रकृतिका आधारमा त्यसलाई पनि अघि बढाउने तथा सहयोग उपलब्ध गराउने अधिकारीले बताए। साथै कोरोना प्रभावित क्षेत्रलाई ध्यानदिँदा वित्तीय क्षेत्रको अन्तर्राष्ट्रिय अभ्यास र नीतिगत दरहरुमा सकभर कम चलाउन प्रयास गरिने पनि जानकारी दिए।

अहिलेको अवस्थामा अर्थतन्त्रका लागि आवश्यक तरलताको समस्या नरहने उनले बताए। सकारात्मक कुरा भनेको अहिलेको अवस्थामा साढे २ खर्ब अधिक तरलता रहेको अवस्था छ। अझै बढी चाहिएको सन्दर्भमा पनि केन्द्रीय बैंकले अन्य वित्तीय औजारहरु समेत तयार गरेको अधिकारीले जानकारी दिए। यसका साथै केन्द्रीय बैंकले कोरोनाका कारण बैंक वित्तीय क्षेत्रमा परेको प्रभावलाई समेत नजिकबाट हेरिरहेको समेत उनले बताए।

नेपाल राष्ट्र बैंकको प्रारम्भिक अध्ययन अनुसार कोरोना भाइरसका कारण अर्थतन्त्रलाई १ खर्ब ६४ अर्ब नोक्सान भएको जनाएको छ । त्यसैगरी तथ्याङ्क विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ मा सीमित रहने पुर्व अनुमान गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटले पनि साना तथा मझौला ब्यवसायहरुलाई केन्द्रित गर्दै सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत वाणिज्य बैंकले प्रतिशाखा कम्तिमा १० तथा विकास बैंकले प्रतिशाखा कम्तिमा ५ जनाका दरले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ ।