काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दोस्रो राष्ट्रिय ‘इन्स्योरेन्स डिस्कोर्श, २०२५’को प्रतिवेदन बुझेका छन् । उपप्रधान तथा अर्थमन्त्री पौडेलले बैंकिङ्ग समाचार र नेपाल बीमा प्राधिकरणद्वारा संयुक्तरुपमा आयोजित दोस्रो संस्करणको ‘इन्स्योरेन्स डिस्कोर्श, २०२५’ को प्रतिवेदन बुझेका हुन् ।
यही पुसमा सम्पन्न दोस्रो ‘इन्स्योरेन्स डिस्कोर्श’ को प्रतिवेदन बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले बुझाए । प्रतिवेदन बुझाँउदै ढुंगेलले डिस्कोर्शले नेपाली बीमा उद्योगलाई गहिराईबाट बुझ्न, समस्या पहिचान गर्न र समाधानका उपाय खोज्न गहन र गहिराइमा पुगेर छलफल गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । यस्तै, बीमा क्षेत्रको स्थायित्व र दिगो विकासमा समेत डिस्कोर्शबाट योगदान पुगेको उनको भनाइ रह्यो ।
दोस्रो संस्करणको एक दिवसीय इन्स्योरेन्स डिस्कोर्शको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै तत्कालिन समयमा पौडेलले यसखालको डिस्कोर्शले बीमा उद्योगको दिर्घकालिन महत्व र रणनीति पहिचान गर्नुका साथै सर्वसाधारण तहसम्म बीमाको आवश्यक्ता बुझाउन महत्त्वपूर्ण सहयोग पुग्ने बताएका थिए ।
साथै, डिस्कोर्शका विभिन्न सत्रमा सम्पन्न छलफलबाट निस्कने निष्कर्षबाट बन्ने प्रतिवेदन बुझ्ने उनले बताएका थिए । सोहीबमोजिम पौडेलले आयोजककातर्फबाट बैंकिङ्ग समाचारले बुझाएको प्रतिवेदन बुझ्दै बीमा क्षेत्रको उन्नती र स्थायित्वका लागि सुझावहरुलाई कानूनी व्यवस्थामा परिणत गर्ने र कार्यान्वयनको तहसम्म लैजाने बताए । यस्तै, यसखालको कार्यक्रमले देशको समग्र अर्थतन्त्रका साथै बीमा उद्योगलाई मजबुत, भरपर्दो र समसामयिक बनाउन मद्दत पुग्ने उपप्रधान एवं अर्थमन्त्री पौडेलले बताए ।
बैंकिङ्ग समाचारले डिस्कोर्शका विभिन्न ५ सत्रमा भएको छलफलकाे निष्कर्षबाट ६६ वटा बुँदामा सुझाव समेटेर प्रतिवेदन बनाएको छ । डिस्कोर्शमा उद्घाटन र समापन सत्रबाहेक ४ वटा विषयगत सत्र र १ विशेष सत्रगरी ५ सत्र सञ्चालन भएको थियो। जसमा ‘जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्य’ र ‘निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू’ विषयक सत्रगत छलफल भएको थियो ।
यस्तै ‘बीमामा प्रविधिको उदय: चुनौती र अवसरहरू’ र ‘नेपाली पुनर्बीमाको सीमा विस्तार: व्यवसाय वृद्धिमा नवीनता’ तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतसँग विशेष सत्र सञ्चालन भएको थियो ।
प्रतिक्रिया