काठमाडौं – बाराको सिमरामा रहेको मधेस प्रदेशकै पहिलो र एक मात्र पाँचतारे होटेल इच्छा लिमिटेडले सर्वसाधारणमा शेयर निष्कासन गर्ने भएको छ । उक्त निष्कासन गर्ने कार्यका लागि आज हिमालयन क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त हस्ताक्षर कार्यक्रम होटेलका संस्थापक अध्यक्ष इच्छा बहादुर वाग्लेको उपस्थितिमा भएको र सम्झौता पत्रमा होटेलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेवन्त प्रसाद धौभडेल र हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा निष्कासन कम्पनीका तर्फबाट सञ्चालक मुनसन वाग्ले, संस्थापक शेयरधनी लालकाजी खड्का, गोकर्ण खतिवडा, सन्जोग बिक्रम कुवँर र बिक्री प्रबन्धक कम्पनीका प्रमुख सञ्चालन अधिकृत राम प्रसाद भट्टराईको समेत उपस्थिति रहेको थियो । अधिकृत पुँजी २०० रूपैयाँ करोड रहेको र जारी पुँजी १५० करोड रूपैयाँ रहेको उक्त होटलले जारी पूँजीको २० प्रतिशत अर्थात ३० करोड रूपैयाँ रकम बराबरको ३० लाख कित्ता शेयरको सर्वसाधारणमा शेयर निष्कासन गर्ने भएको हो ।
नेपाल ल्याण्ड एण्ड हाउजिङ्ग एसोसियसनका पूर्व अध्यक्ष एवं समाजसेवी इच्छा बहादुर वाग्लेले आफ्नै नाममा होटेलको नाम राखी २०७४ सालमा भारतका प्रसिद्ध योग गुरु बाबा रामदेवबाट उद्घाटन गराई चारतारे होटेलको रूपमा सञ्चालनमा ल्याउनु भएकोमा होटेलको व्यवसायीक प्रगति संगसंगै २०७९ सालमा मधेस प्रदेशकै पहिलो र एक मात्र पाँचतारे होटेलको मान्यता प्राप्त गर्न सफल भएको छ र यसै आर्थिक वर्षको श्रावण १ गतेदेखि पब्लिक कम्पनीको रूपमा समेत सञ्चालनमा आएको छ ।
शुरुमा व्यक्तिगत रूपमा स्वःलगानीमा सञ्चालनमा आएको उक्त होटेलले चालु आर्थिक वर्षमा सर्वसाधारण तथा उच्च व्यवसायीक घरानाका व्यक्ति तथा कम्पनीहरु समेतलाई प्रवद्र्धकको रूपमा भित्र्याई हाल संस्थापक समूहको चुक्ता पुँजी १२० करोड रूपैयाँ पुगेको छ ।
पाँच विगाहा भन्दा बढी क्षेत्रफल रहेको जग्गामा निर्मित उक्त होटेलमा सुविधा सम्पन्न १०० वटा कोठाहरु रहेका छन् भने स्वीमिङ्ग पुल, क्यासिनो, स्पा, ब्याङक्वेट, क्लब हाउस आदि समेत सुविधाहरू रहेका छन् । चालु आर्थिक वर्षमा नै साधारण सभाबाट प्रस्ताव पारित गरी नेपाल धितो पत्र बोर्डमा सार्वजनिक निष्कासनको स्वीकृतिका लागि आवेदन दिने र आगामी आर्थिक वर्षभित्रमा सर्वसाधारणमा शेयर निष्कासन गर्ने योजना रहेको कम्पनीका प्रमुख प्रवर्द्धकइच्छा बहादुर वाग्लेले जानकारी दिएका छन् ।
हाल सञ्चालनमा रहेको मिनी क्यासिनोलाई पाँचतारे होटेल स्तरको क्यासिनो सञ्चालन गर्नका लागि छुट्टै भवनमा स्थानान्तरण गर्ने गरी भवन निर्माणको कार्य भइरहेको छ । होटेललाई अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान गराउन भारतको प्रसिद्ध होटेल व्यवस्थापन समूहलाई होटेल सञ्चालनको जिम्मा दिने सम्बन्धमा छलफल करिब अन्तिम चरणमा पुगेको र केही दिनमा नै सम्झौता भइसक्ने पनि जानकारी दिए । त्यसैकालागि हाल होटेलको रिनोभेसन तथा कोठाहरूको स्तरीकरण गर्ने कार्य सुरु गरिएको र छिट्टै नै अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न होटेलमा परिणत हुने जानकारी दिए ।
भारतको मुख्य गरी विहार प्रदेशका नागरिककालागि डेस्टिनेशन म्यारिज हवको रूपमा परिचित यस होटेलले बर्सेनि ३० देखि ४० वटा वैवाहिक कार्यक्रम होटेलमा गर्ने गरेको छ । भारतको सिमानाबाट करिब १९ कि. मि. टाढा रहेको यस होटेल भारतीय नागरिकहरुकालागि क्यासिनो खेल्नकालागि हव नै बनेको छ ।
काठमाडाैं निजगढ फास्ट ट्र्याक सम्पन्न भएपछि सडक मार्गबाट नेपाल आउने भारतीय नागरिकहरूको संख्या बढ्ने, हवाईमार्गबाट आउने यात्रुहरुलाई पनि १ कि. मि. को दुरीमा रहेको सिमरा एअरपोर्टबाट सहज हुने र भारतको रक्सोलमा समेत एअरपोर्ट निर्माणको तयारी भईरहेकोले भारतीय नागरिकहरुलाई हवाई यातायातबाट नेपाल आउँदा जाँदा ट्रान्जिटको रूपमा बस्न कालागि यो होटेल केन्द्रबिन्दु बन्ने भएकालेपनि होटेलको स्तरोन्नति गरी पाँचतारे होटेलमा परिणत गरिएको वाग्लेले बताएका छन् ।
प्रतिक्रिया