लुम्बिनी विकास बैंक एनपीएस, एनसीएस र नेपाल पे कार्डमा आवद्ध


काठमाडाैं – लुम्बिनी विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस-एनसीएस तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ। उक्त सम्झौतामा लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरेका छन् ।

एनसीएचएलले हालै एनपीएस-एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै, बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम, नेपाल पे कार्ड, इश्यूइङ र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो। यस अनुरूप, लुम्बिनी विकास बैंकले अब नेपाल पे कार्डमा ग्राहकहरुको कार्ड इश्यू र अक्वायर गर्न सक्नेछन्।

एनपीएस-एनसीएसलाई विभिन्न कार्ड स्विचहरू बीच अन्तरआबद्धता कायम गर्दै, डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ। यस प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास हुने अपेक्षा गरिएको छ।

एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढी गैर-बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरूको सेवा प्रदान गर्दै आएको छ। यस कार्यान्वयनसँगै नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइमा पुर्याउने लक्ष्य राखिएको छ। लुम्बिनी विकास बैंक नेपालभरिका ८९ शाखा र २० एटीएम टर्मिनल मार्फत ६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ। यस साझेदारीले डिजिटल बैंकिङ्गमा थप नवप्रवर्तन र दक्षता ल्याउने विश्वास लिएको छ।