काठमाडौं – पूर्व गभर्नर महाप्रसाद अधिकारीले पाँच वर्षे कार्यकालमा २३ लाख रूपैयाँ बढीले सम्पत्ति बढाएका छन् । मंगलबार केन्द्रीय बैंकले सार्वजनिक गरेकाे ५ वर्षे तुलनात्मक सम्पत्ति विवरण अनुसार हालसालै (यही २४) गभर्नरबाट बिदा भएका अधिकारीकाे २३ लाख ४४ हजार ४१० रुपैयाँले सम्पत्ति बढेको देखिएकाे हाे ।
विवरण अनुसार २०७६ साल चैतमा उनको कुल सम्पत्ति ३ करोड ४५ लाख ९१ हजार ८५२ रुपैयाँ थियो । २०८१ साल चैतमा उनको कुल सम्पत्ति बढेर ३ करोड ६९ लाख ३६ हजार २६२ रुपैयाँ पुगेको छ । यो कुल सम्पत्ति डलर खातामा रहेको पैसाबाहेकको हो ।
अधिकारीसँग २०७६ साल चैतसम्म ५ लाख ३ हजार रुपैयाँ बराबरको नगद, सुन र चाँदी रहेको थियो। २०८१ साल चैतसम्म आइपुग्दा बढेर ९ लाख ८८ हजार रुपैयाँ बराबरको नगद, सुन र चाँदी पुगेकाे छ । अधिकारीसँग ३२ लाख रुपैयाँकाे घर र १ करोड ८ लाख ५१ हजार रुपैयाँ मूल्यांकनको १० कित्ता जग्गा रहेको छ ।
२०८१ साल चैतमा गभर्नर अधिकारीको सवारी साधनको १० लाख मूल्य १४ लाख ७७ हजार रुपैयाँ रहेको छ। २०७६ सालमा १४ लाख ७७ हजार रूपैयाँ रहेकाे थियाे । २०८१ चैतसम्म वाणिज्य बैंकको अधिकारीको डलर खातामा २८ हजार ६०८ डलर रहेको छ । २०७६ चैतसम्म अधिकारीको डलर खातामा २ हजार ३०२ डलर रहेको थियो । पाँच वर्षको अवधिमा डलर खातामा २६ हजार ३०६ डलर थपिएको छ ।
अधिकारीको २०८१ साल चैत बैंक मौज्दात तथा सञ्चय कोषमा २८ लाख ४ हजार २ सय रूपैयाँ रहेकाे छ । २०७६ चैतसम्म १३ लाख ८८ हजार ३ सय ६२ रूपैयाँ थियाे । राष्ट्र बैंक ऐन, २०५८ को दफा ३२ को उपदफा (४) बमोजिम सार्वजनिक सेवा सम्हाल्ने उच्च पदस्थ अधिकारीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था अनुरूप अधिकारीकाे विवरण सार्वजनिक गरिएको हो।
प्रतिक्रिया