काठमाडौं – पूर्व गभर्नर महाप्रसाद अधिकारीले पाँच वर्षे कार्यकालमा २३ लाख रूपैयाँ बढीले सम्पत्ति बढाएका छन् । मंगलबार केन्द्रीय बैंकले सार्वजनिक गरेकाे ५ वर्षे तुलनात्मक सम्पत्ति विवरण अनुसार हालसालै (यही २४) गभर्नरबाट बिदा भएका अधिकारीकाे २३ लाख ४४ हजार ४१० रुपैयाँले सम्पत्ति बढेको देखिएकाे हाे ।
विवरण अनुसार २०७६ साल चैतमा उनको कुल सम्पत्ति ३ करोड ४५ लाख ९१ हजार ८५२ रुपैयाँ थियो । २०८१ साल चैतमा उनको कुल सम्पत्ति बढेर ३ करोड ६९ लाख ३६ हजार २६२ रुपैयाँ पुगेको छ । यो कुल सम्पत्ति डलर खातामा रहेको पैसाबाहेकको हो ।
अधिकारीसँग २०७६ साल चैतसम्म ५ लाख ३ हजार रुपैयाँ बराबरको नगद, सुन र चाँदी रहेको थियो। २०८१ साल चैतसम्म आइपुग्दा बढेर ९ लाख ८८ हजार रुपैयाँ बराबरको नगद, सुन र चाँदी पुगेकाे छ । अधिकारीसँग ३२ लाख रुपैयाँकाे घर र १ करोड ८ लाख ५१ हजार रुपैयाँ मूल्यांकनको १० कित्ता जग्गा रहेको छ ।
२०८१ साल चैतमा गभर्नर अधिकारीको सवारी साधनको १० लाख मूल्य १४ लाख ७७ हजार रुपैयाँ रहेको छ। २०७६ सालमा १४ लाख ७७ हजार रूपैयाँ रहेकाे थियाे । २०८१ चैतसम्म वाणिज्य बैंकको अधिकारीको डलर खातामा २८ हजार ६०८ डलर रहेको छ । २०७६ चैतसम्म अधिकारीको डलर खातामा २ हजार ३०२ डलर रहेको थियो । पाँच वर्षको अवधिमा डलर खातामा २६ हजार ३०६ डलर थपिएको छ ।
अधिकारीको २०८१ साल चैत बैंक मौज्दात तथा सञ्चय कोषमा २८ लाख ४ हजार २ सय रूपैयाँ रहेकाे छ । २०७६ चैतसम्म १३ लाख ८८ हजार ३ सय ६२ रूपैयाँ थियाे । राष्ट्र बैंक ऐन, २०५८ को दफा ३२ को उपदफा (४) बमोजिम सार्वजनिक सेवा सम्हाल्ने उच्च पदस्थ अधिकारीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था अनुरूप अधिकारीकाे विवरण सार्वजनिक गरिएको हो।



About Us
प्रतिक्रिया