काठमाडौं – सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले थप दुई सेवा विस्तार गरेको छ । कम्पनीले नेपालको बीमा क्षेत्रमा पहिलो पटक सुर्यज्याेति केयर्स डिजिटल कार्ड र सुर्यज्योति ई–कर्जा सेवा शुरू गरेको हो । सोमबार कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै उक्त सेवा शुभारम्भ गरेको हो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्रीले ई–कर्जा सेवा शुभारम्भ भएसँगै अब जीवन बीमा पोलिसीमा अनलाइन कर्जा लिन सकिने जानकारी दिए ।
तेस्रो किस्ता तिरिसके र तीन वर्ष पुरा भएका बिमितले अनलाइनबाट ई–कर्जा सेवा पाउने भएका छन् । ५० हजार रुपैयाँसम्म पाइने कर्जाको ब्याजदर कम्पनीले तोके अनुसार हुनेछ । कम्पनीले तोकेको आवश्यक कागजातसहित कर्जाको लागि आवेदन दिएको केही दिनभित्रै कम्पनीले बीमितको बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । यस्तो सेवा नेपालमै पहिलो रहेको सीइओ खत्रीले दाबी गरे ।
सीईओ खत्रीका अनुसार सुर्यज्योति केयर्स डिजिटल कार्ड बिमीत र अभिकर्ताहरूका लागि ल्याइएको कार्ड हो । यो कार्ड पाँच लाख माथि पोलिसि खरिद गरेका बिमितहरूले प्रयोग गर्न पाउनेछन् । यस कार्ड प्रयोगकर्ताहरूका लागि शुल्क भने ५० रुपैयाँ तोकिएको छ ।
अल्का अस्पतालमा क्युआर मार्फत भुक्तानी गर्दा विभिन्न छुट समेत पाइने भएको छ । यससँगै देशभरका ४२ वटा अस्पतालबाट सम्झौता अनुसार छुट सेवा पाउने भएका छन् । फिटनेस सेन्टर, सिनेमा हल, सपिङ महललगायत ठाउँहरूमा पनि छुटका लागि सम्झौता गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया