गभर्नर नियुक्ती गर्न सरकार असफल हुँदा शेयर बजारमा उच्च अंकको गिरावट

गभर्नर नियुक्ती गर्न सरकार असफल हुँदा शेयर बजारमा उच्च अंकको गिरावट


काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती प्रक्रियामा सरकारले देखाएको अनिश्चिततामाथि शेयर लगानीकर्ता अलमलमा परेका छन् । यससँगै, आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ अंकले घट्यो । १८औं गभर्नर नियुक्तीको विषयमा सरकार अनिश्चियको भूमरीमा पर्दा लगानीकर्ताको मनोबल खस्केको हो ।

परिसूचक ३२ अंकले घटेसँगै नेप्से परिसूचक २६ सय ७० अंकमा आइपुगेको छ । यो १.२० प्रतिशतको गिरावट हो । यसक्रममा आज नेप्सेमा २२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने २३ वटा कम्पनीको शेयर मूल्य मात्रै बढेको छ ।

नेप्से परिसूचक उच्च अंकले घट्दा आज ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको १ करोड कित्ता शेयर किनबेच भएको छ । यसक्रममा आज सबै १३ वटै समूहको सूचक घटेको छ । सबैभन्दा बढी व्यापार र निर्जीवन बीमा कम्पनी समूह घटेको छ । यो समूहमा क्रमशः १५८ अंक र १५७ अंक घटेको छ ।

यसपछि जीवन बीमा कम्पनी समूह १०९ अंकले घटेको छ भने उत्पादनमूलक समूहमा ९५ अंकको गिरावट आएको छ । यस्तै होटल तथा टुरिजम समूहमा ८४ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ ।

नेपाल सरकारले चैत २४ गतेदेखि खाली भएको गभर्नरमा नियुक्ती गर्न सकेको छैन । १७औं गभर्नर विदा भएर घर गएपनि १८औं गभर्नरको अत्तोपत्तो नहुँदा भावि गभर्नर आएर शेयर बजार प्रति लिने नीतिको अनिश्चितताका कारण बजारमा आबद्ध लगानीकर्ताको मनोबल खस्केको हो ।