बैंकिङ्ग निक्षेप घट्दा कर्जा प्रवाह स्थिर, अन्तर बैंक ब्याजदर ३ प्रतिशत

बैंकिङ्ग निक्षेप घट्दा कर्जा प्रवाह स्थिर, अन्तर बैंक ब्याजदर ३ प्रतिशत


काठमाडौं – केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा ३ अर्बको गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकको चैत १७ र १८ गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा एकैदिन ३ अर्बको गिरावट देखिएको हो । तथ्यांअनुसार चैत १७ गते ६७ खर्ब ९० अर्ब निक्षेप संकलन भएकोमा भोलिपल्ट ३ अर्बले घट्दै ६७ खर्ब ८७ अर्ब रुपैयाँ संकलन भएको छ । सो समयमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि ३ अर्बकै गिरावट देखिएको छ ।

चैत १७ गते ६० खर्ब ६३ अर्ब रुपैयाँ संकलन गरेका वाणिज्य बैंकहरुले भोलिपल्ट ६० खर्ब ६० अर्ब रुपैयाँ संकलन गरेका छन् । सो समयमा कर्जा प्रवाह भने स्थिर रहेको छ । चैत १७ गते ५४ खर्ब ६८ अर्ब कर्जा प्रवाह भएकोमा भोलिपल्ट पनि सोही रकम बराबरको कर्जा प्रवाह भएको छ । 

सो समयमा वाणिज्य बैंकहरुको कर्जा प्रवाहमा भने १ अर्ब रुपैयाँको गिरावट देखिएको छ । चैत १६ गते ४८ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट घटेर ४८ खर्ब ५३ अर्बमा खुम्चिएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ३१ प्रतिशत रहेको छ।