सक्षम गभर्नरको अपेक्षामा निजी क्षेत्र

सक्षम गभर्नरको अपेक्षामा निजी क्षेत्र


काठमाडौं – नेपाल राष्ट्र बैंकले सक्षम गभर्नर पाउने अपेक्षा निजी क्षेत्रले राखेका छन् । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था उद्योग संगठन मोरङले समग्र अर्थतन्त्रको विकास तथा उद्योग व्यवसाय क्षेत्रको विकासको गतिलाई तीव्र बनाउन अनुमानयोग्य नीतिगत सुधार गर्न सक्षम नेतृत्व नेपाल राष्ट्र बैंकले पाउने सङ्गठनले अपेक्षा लिएको जनाएको छ ।

विगत केही वर्ष देखि अर्थतन्त्र र उद्योग व्यवसाय क्षेत्रमा छाएको उदासीनतालाई मध्यनजर गरी आर्थिक र वित्तीय क्षेत्रको गहिरो ज्ञान भएका देशको मौद्रिक नीति, मुद्रास्फीति नियन्त्रण, ब्याज दरको निर्धारण गर्न सक्ने गभर्नरकाे अपेक्षा गरिएकाे संगठनले जनाएकाे छ ।

साथै, वित्तीय स्थिरता जस्ता विषयले औद्योगिक र आर्थिक क्षेत्र सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले व्यावहारिक अनुभव र बुझाइ भएका व्यक्तिलाई गभर्नर नियुक्ति गर्नुपर्नेमा सङ्गठनले जोड दिएको छ ।

विगतमा राष्ट्र बैंकले लिएको कहिले अत्यन्त कसिलो र कहिले खुकुलो नीतिले आर्थिक एवं औद्योगिक क्षेत्र प्रभावित भएको अनुभव भोगेको निजी क्षेत्रले नयाँ गभर्नर नियुक्ति गर्दा देशको आर्थिक अवस्थामा सुधार ल्याउने, व्यवसायी विकासको गति तीव्र बनाउन र दिगो समृद्धि सुनिश्चित गर्न नेपालका उद्योग र व्यापारका जटिलताहरूलाई राम्रोसँग बुझेको योग्य नेतृत्व आवश्यक रहेको सङ्गठनले जनाएको छ ।