काठमाडाैं – नेपाल बीमा प्राधिकरणको आयोजनामा आज कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेश सरकार, बीमा कम्पनी तथा नेपाल बीमा प्राधिकरणबीच नीति निर्माणदेखि कार्यान्वयनसम्मका विषयमा विस्तृत छलफल गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा बीमा क्षेत्रको विकास गर्न प्रदेशस्तरीय बीमा कानून तथा नीति निर्माणमा सरकार प्रतिबद्ध रहेको जनाउँदै उक्त प्रक्रियामा नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्ने आग्रह गरे। उनले महिला स्वयम्सेविकाको बीमा हुँदै आएको र विपद् बीमाका क्षेत्रमा समेत गम्भीरता देखाउँदै दाबी भुक्तानी प्रक्रियालाई झन्झटरहित बनाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले आम नागरिकलाई बीमाको पहुँचमा ल्याउन र विपद्लाई बीमासँग जोडेर नीतिगत पहल गर्न आफू प्रतिबद्ध रहेको बताए। बीमा अनुदानको प्रभावकारिता वृद्धि गर्न सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमित तथा बीमक दुबैको हित सुरक्षित गर्दै प्राधिकरणले सन्तुलित नीति लिने बताए। उनले कृषि बीमा विस्तार, कच्ची घरको बीमाका लागि आवश्यक बीमालेख निर्माणमा प्राधिकरणले सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा प्रणाली, हालको अवस्था, चुनौती तथा प्रदेश सरकारको भूमिका विषयमा प्रस्तुति दिँदै प्रत्येक मन्त्रालय अन्तर्गत बीमा सम्पर्क व्यक्ति तोक्न आग्रह गरे।
कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरूले बीमाको प्रिमियम जनताको आर्थिक अवस्था अनुसार निर्धारण गर्नुपर्ने, अनुगमन प्रणालीलाई अझ सशक्त बनाउनुपर्ने, दाबी भुक्तानी प्रक्रिया छरितो बनाउन थप सहजीकरण गर्नुपर्ने लगायतका सुझाव दिएका थिए।
कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्का, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बम, पूर्वाधार राज्यमन्त्री निर्मला देवी साउद, प्रदेश सरकारका मुख्यसचिव डा. कमल प्रसाद पोख्रेलसहित मन्त्रालय, स्थानीय तह तथा बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो।
प्रतिक्रिया