काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडको सहयोगमा निर्मित पर्सास्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयको पुस्तकालय भवनको उद्घाटन भएको छ। विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा पुस्तकालय भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो।
उद्घाटन समारोहमा विद्यालयका प्रधानाध्यापक बिनोद मेहता, बैंकका मधेश प्रदेश प्रमुख अमित केसी लगायत विद्यालयका अन्य सम्बन्धित व्यक्तिहरू सहित बैंकका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो। उक्त पुस्तकालय सञ्चालनमा आएसँगै सो विद्यालयका झन्डै १५ सय विद्यार्थी तथा शिक्षक, शिक्षिकाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको बैंकले जानकारी दिएको छ।
बैंकले यसअघि पनि चितवनको श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालय, रुपन्देहीको श्री पब्लिक सेकेन्डरी स्कुल, सिराहाका श्री बाला सुन्दरी माध्यमिक विद्यालय, तनहुँका श्री पवित्रा माध्यमिक विद्यालय, कैलालीको श्री मोहन्याल माध्यमिक विद्यालय, झापाका श्री आदर्श माध्यमिक विद्यालय र गौरीगञ्ज माध्यमिक विद्यालयमा पुस्तकालय निर्माण र उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिसकेको छ।
बैंकले यसका लागि २ करोड ५ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ। विभिन्न स्कूलहरूमा पुस्तकालय भवन निर्माणपछि ११ हजारभन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको बैंकले जानकारी दिएको छ। साथै बैंकले आगामी दिनहरूमा पनि यस्तै प्रकारको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू गर्दै जाने प्रतिवद्धता समेत जनाएको छ।
प्रतिक्रिया