राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले दिए राजीनामा

राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठले दिए राजीनामा


काठमाडौं – १८औँ गभर्नरको दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्य छन् । आयोग सदस्य नियुक्त भएसँगै उनी काजमा योजना आयोगमा काम गरिरहेका छन् ।

श्रेष्ठ अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारकारुपमा गरेको कामको अनुभव लिएर गभर्नर बन्ने दौडमा छन् । साेहीक्रममा उनले पदबाट राजीनामा दिएसँगै यसलाई विशेष रुपमा हेरिएको छ । श्रेष्ठले राष्ट्रिय बैंकिङ्ग इन्स्टिच्युटको अध्यक्ष, नेपाल धितोपत्र बोर्ड (सेबोन) सञ्चालक सदस्य बनेर काम गरिसकेका छन् ।

यस्तै, संयुक्त राष्ट्र संघको एशिया प्यासिफिक क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगमा अनुसन्धानकर्ताकारुपमा काम गरिसकेका छन् । उनले त्रिभुवन विश्वविद्यालयमा केन्द्रीय अर्थशास्त्र विभागमा एमफिल गरिरहेका विद्यार्थीहरूलाई वित्तीय अर्थशास्त्र अध्यापन समेत गराएका छन् भने ‘द न्यू स्कूल फर सोशल रिसर्च, न्यूयोर्क’मा शिक्षण सहयोगीको भूमिकामा काम गरेको अनुभव सँगालेका छन् ।