काठमाडौ – राष्ट्रिय जीवन बीमा कम्पनीले एक दशकपछि वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले आर्थिक वर्ष २०६९/७० यता वार्षिक साधारण सभा गर्न सकेको थिएन । तर, प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर पन्थी आएसँगै ५ आर्थिक वर्षको साधारण सभा डाकेको हो। कम्पनीले आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्मको वार्षिक साधारण सभा एकै पटक डाकेको छ । सीईओमा पन्थी आएसँगै कम्पनीले आफ्नो रोकिएका सबैजसो व्यवसायीक गतिविधि अघि बढाइरहेको छ । यससँगै, एकैपटक ५ आर्थिक वर्षको साधारण सभा समेत डाकेको हो ।
संस्थाबाट कम्पनीमा परिणत भएपछि लामो समयदेखि रोकिइरहेको साधारण सभाका साथै अन्य कामहरू पनि अघि बढेकाे छ। कम्पनीको साधारण सभा रोकिँदा अडिटदेखि धेरैजसो काम रोकिएका थिए । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार ५ आर्थिक वर्षको साधारण सभा आगामी वर्ष २०८२ साल वैशाख ३ गतेलाई डाकेको छ । कम्पनीमा रूपान्तरण भएको १४ महिनापछि प्रमुख कार्यकारी अधिकृत पाएको थियो । प्रमुख कार्यकारीमा नियुक्त भएपछि पन्थीका सामु देखिएका कयौँ चुनौतीमध्ये वार्षिक साधारण सभा सम्पन्न गर्ने प्रमुख चुनौती थियो ।
बैंकिङ्ग समाचारसँगको कुराकानीमा सीईओ पन्थी सुरुमा वार्षिक साधारण सभा सम्पन्न गर्नतर्फ अघि बढेको बताउँछन् । ‘केही नीतिगत कुराले अड्किएको अवस्थामा अब भने सबै काम सम्पन्न गर्दै अघि बढ्ने रणनीति बनाएको छु,’ उनले भने, ‘कम्पनीको केही समयबाट रोकिएको साधारण सभामा २०७३ सम्मको सबै वित्तीय कारोबार छलफल तथा पास गर्ने हो ।’
के – के छन् एजेन्डा ?
सभाले सञ्चालक समितिले स्वीकृत गरेको पुँजी वृद्धिको योजनालाई अनुमोदन गर्नेछ । कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा समयानुकूल संशोधन समेतका कार्य गर्न र गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ । यस्तै, सभामा कम्पनीले पुँजी वृद्धिको योजनालाई अनुमोदन गर्ने प्रस्ताव राख्ने छ ।
साथै, कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा समयानुकूल संशोधन गर्न र गर्न प्रस्तावका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पेस हुनेछ । सभामा आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्मको वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । साथै, २०७६/७७ देखि २०७८/७९ सम्मको लेखा परीक्षणको लागि महालेखा परीक्षकको परामर्शमा सञ्चालक समितिले नियुक्त गरेका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र पारिश्रमिक अनुमोदनसमेत गर्ने एजेन्डा रहेको छ ।
प्रतिक्रिया