अबको गभर्नरः जो चर्चामा छन्

इन्जिनियर र सीए बन्ने चाहना राखेका सन्तोष कोइराला गभर्नरको दौडमा

इन्जिनियर र सीए बन्ने चाहना राखेका सन्तोष कोइराला गभर्नरको दौडमा


काठमाडौं – सरकार १८औं गभर्नर नियुक्तिको अन्तिम चरणमा छ । १७औं गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिने समय नजिकिँदै गर्दा सरकारले भावी गभर्नर नियुक्तिको लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा सिफारिस समिति नै बनिसक्यो । ३ सदस्यीय सिफारिस समितिमा डा. विश्व पौडेलसहित विजयनाथ भट्टराई नियुक्त भएको बताइएको थियो ।

तर, पछि सरकारले यो विषयमा थप जानकारी बाहिर ल्याएन । यसबाट सरकारले गभर्नरको नियुक्ति प्रक्रिया गुपचुप गर्ने योजना बनाएको प्रस्ट हुन्छ । यद्यपि, यसबाट सरकार भावी गभर्नर चुन्ने प्रक्रियामा धेरै अघि बढिसकेको प्रस्ट भने हुन्छ । गभर्नर नियुक्तिको समय नजिकिँदै जाँदा आकांक्षीहरुले राजनीतिक भेटघाट समेत बक्लाएका छन् ।

यस पटक गभर्नर बन्ने होडमा झन्डै दर्जन व्यक्ती चर्चामा रहेको बताइन्छ । तर, हामीले तीमध्येबाट छानेर केही व्यक्तीको ‘प्रोफाइल स्टोरी’ गरेका छौं । तीनैमध्येका एक हुन माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला । कोइराला अन्य वाणिज्य बैंकका प्रमुखहरूसँगै गभर्नर बन्ने सम्भावितहरूको सूचीमा छन् । यद्यपि, उनी आफू गभर्नरको दौडमा नरहेको बताउँछन् ।

नेपाली काँग्रेसका महामन्त्रीद्वयसँग ‘किचन क्याबिनेट’को सम्बन्ध रहेका कोइराला झापाका हुन् । उनले नेपाली काँग्रेसका महामन्त्री डा. विश्वप्रकाश शर्मासँगै विद्यालयमा अध्ययन गरेका थिए । यहीकारण यी दुईबीच घनिष्ठता छ । यसबाहेक, महामन्त्री गगन थापा, सभापति शेरबहादुर देउवा लगायतसँग पनि राम्रो सम्बन्ध छ । उनै कोइराला वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूमध्ये गभर्नरको सूचीमा नाम चलेको छ ।

भोजपुरको भोजपुर नगरपालिकामा जन्मे हुर्केर ५ सम्म पढेपछि उनको परिवार झापा झरेको थियो । बुबा सरकारी जागिरे थिए । नायब सुब्बामा कार्यरत रहँदैमा बुबाले अवकाश पाएपछि उनीहरू बसाई सरेका थिए । त्यसपछि उनको पढाइले पनि झापाबाटै निरन्तरता पायो । कोइरालाले झापाको चन्द्रगढी–६ स्थित वीरेन्द्र माविबाट २०४५ सालमा एसएलसी उत्तीर्ण गरे । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनी पढाइमा अब्बलहरूमा नै गनिन्थे ।

विद्यालय तहको पढाई सकेर काठमाडौं छिरेर इन्जिनियर बन्ने लक्ष्य कोइरालाको थियो । सानैदेखि इन्जिनियरमा रुचि राख्ने कोइराला अमृत साइन्स क्याम्पस (अस्कल) ठमेलमा भर्ना समेत भएका थिए । त्यहाँबाट आइएससी उर्तिण गरेपनि सोचेअनुरुपको ‘मास्क’ आएन । तर पनि इन्जिनियर बन्ने लक्ष्यसहित पुलचोक क्याम्पसमा आवेदन दिए पनि घरायसी कारणले परीक्षा छुट्यो । तर, त्यो परीक्षा मात्रै छुटेको नभएर आफ्नो बुबाममीको सपना र आफ्नो लक्ष्य पनि छुटेको उनी बेलाबखत बताउने गर्छन् ।

इन्जिनियर बन्ने लक्ष्य भेट्टाउन नसकेपछि झापा नै फर्किएर मेची बहुमुखी क्याम्पसबाट बिकम पढ्न गरे । बिकम उर्तिण गरेपछि काठमाडौं नै फर्केर शंकरदेव क्याम्पस भर्ना भए । उनलाई त्यो समयमा क्याम्पस प्रमुखले नै सीए पढ्न सुझाएपछि कोइराला भारततर्फ लागे । तर, पढाई पुरा नहुँदै स्वास्थ्यमा समस्या देखापर्यो र नेपाल फर्किएपछि परिवारले रोक्दा पुनः भारत गएनन् । फलस्वरुपः कोइरालाको सीए बन्ने सपना पनि तुहियो ।

इन्जिनियर र सीए बन्ने सपनाबाट पछि परेका कोइराला पुन काठमाडौं छिरे । त्यसपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको प्राइभेटबाट एमबीए गरे र बैंक अफ काठमाण्डुबाट बैंकिङ्ग करिअर सुरु गरे । ५ हजार रुपैयाँ प्रतिमहिनामा जागिरमा बैंक अफ काठमाण्डू प्रवेश गरेका उनले जागिर खाएको केही दिनमा नै बिहे गरेका हुन् । बैंक अफ काठमाण्डुमा जागिर गरेको केही समयमा सानिमा विकास बैंक हालको सानिमा बैंकमा जागिर खुल्यो । उनले आवेदन दिए परीक्षा पास गरेर त्यहाँ १३ वर्ष काम गरे ।

त्यसपछि उनी माछापुच्छ्रे बैंक प्रवेश गरे । माछापुच्छ्रे बैंकमा कोइरालाले ११ वर्ष बिताइसकेका छन् । सिनियर म्यानेजरबाट माछापुच्छ्रे बैंक प्रवेश गरेका कोइराला एजीएम, डीजीएम हुँदै २ वर्ष डिसीईओ बने । त्यसपछि उनी माछापुच्छ्रे बैंकमा सीईओ बनेका हुन् । उनी हाल दोस्रो कार्यकालको सीईओमा छन् । उनले पहिलो कार्यकाल सफल सीईओको रुपमा पूरा गरिसकेका छन् । उनै प्रमुख कार्यकारी अधिकृत कोइरालाबारे समेत यतिबेला भावी गभर्नरकोरुपमा चर्चा चलिरहेको छ ।