अबको गभर्नरः जो चर्चामा छन्

गभर्नरको दौडमा लाहुरे बन्ने इच्छा त्यागेका बहुप्रतिभाशाली अशोक शेरचन

गभर्नरको दौडमा लाहुरे बन्ने इच्छा त्यागेका बहुप्रतिभाशाली अशोक शेरचन


काठमाडौं – सरकार १८औं गभर्नर नियुक्तिको अन्तिम चरणमा छ । १७औं गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिने समय नजिकिँदै गर्दा सरकारले भावी गभर्नर नियुक्तिको लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा सिफारिस समिति नै बनिसक्यो । ३ सदस्यीय सिफारिस समितिमा डा. विश्व पौडेलसहित विजयनाथ भट्टराई नियुक्त भएको बताइएको थियो ।

यहीकारण, यतिबेला बजारभरी गभर्नर बन्ने होडमा लाग्नेहरु धेरै छन् । जसमा नेपाल राष्ट्र बैंककै वर्तमान र पूर्व कार्यकारी निर्देशकहरु, सञ्चालकहरु, अर्थशास्त्रीहरु र वाणिज्य बैंकका प्रमुख तथा लगानी बोर्ड र योजना आयोगका पूर्व प्रमुखहरु छन् । यीमध्ये बैंकिङ्ग समाचारले केही व्यक्तीको ‘प्रोफाइल स्टोरी’ श्रृङ्खला गर्दै आइरहेको छ । यो श्रृङ्खलामा भावी गभर्नरका सम्भावितहरुको सूचीअनुसार विभिन्न क्षेत्रका व्यक्तीहरुलाई समेटिएको छ ।

जसमध्ये एक प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन समेत छन् । शेचरन यतिबेला १८औँ गभर्नर बन्ने होडमा छन् । उनी नेकपा एमाले निकट मान्छिन् । यही कारण, गभर्नरको पद राजनीतिक भागबन्डाका आधारमा एमालेको भागमा परेमा भावी गभर्नरका बलियामध्येका एक शेरचन समेत हुन् । उनी बैंकिङ्ग क्षेत्रमा निकै चर्चा कमाएका व्यक्ती समेत हुन् ।

विगत लामो समयदेखि प्रभु बैंकको नेतृत्व सम्हालिरहेको शेरचनले प्रभु बैंकको वित्तीय सूचकमा सुधार आएकाले तेस्रो कार्यकाल सम्हालिरहेका छन् । थकाली परिवारमा जन्मे हुर्केका शेरचनका चिने जानेका सबैजसो लाहुरे वा होटेल व्यवसायी बन्छन् । तर, शेरचन यी दुवैमा परेनन् । यद्यपि, बाल्यकालमा शेरचनले समेत लाहुरे बन्ने योजना बुनेका थिए । तर, सो इच्छालाई पुरा भनेर गरेनन् ।

बाल्यकालको आफ्नो इच्छालाई त्यागेर बैंकिङ्ग रोजेका शेरचनले यो क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाए । नेपाल राष्ट्र बैंकका जागिरे रहेका सानो बुबाले प्रोत्साहन गरेपछि नेपाल बंगलादेश बैंकबाट मासिक ४ हजार रुपैयाँमा जागिर सुरु गरेका थिए । ‘सानो बुबाकै प्रोत्साहनले गर्दा म बैंकर बनेको थिए,’ उनले विभिन्न मञ्चहरूमा भन्ने गरेका छन् ।

बाग्लुङमा जन्मिएका उनी व्यवस्थापन विषय अध्यननका लागि काठमाडौं छिरेका थिए । शंकरदेव कलेजबाट व्यवस्थापनमा स्नातकोत्तर गरेपछि तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ्ग करिअर सुरु गरेका हुन् । यो क्षेत्रमा २७ वर्ष बिताइसकेका शेरचन यतिबेला यो क्षेत्रकै सर्वोच्च पदमा पुग्ने इच्छा देखाइरहेका छन् र सोहीअनुसार ‘लबिङ’मा छन् ।

प्रभु फाइनान्सदेखि प्रभु बैंकले विभिन्न बैंक वित्तीय संस्थासँग मर्जर गर्दै काम गर्दै आउँदा उनले १६ वर्ष बढी प्रमुख कार्यकारी बनेर बिताइसकेका छन् । अशोकको नेतृत्वमा समस्याग्रस्त किष्ट बैंक र ग्राण्ड बैंकलाई प्राप्त गरेर प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकमा स्तरोन्नति भएको हो ।

उनी प्रभु बैंकको सीईओ बन्दा खराब कर्जा अधिक रहेकोमा आफ्नो कार्यकालमा खराब कर्जाको असुलीमा उल्लेख्य प्रगति समेत गरे । त्यस्तै, केही समयअघि सेन्चुरी बैंकलाई प्राप्ति गरेपछि प्रभु बैंकको बजारसँगै चुक्ता पुँजीमा समेत वृद्धि भएको थियो। बैंकिङ्ग क्षेत्रमा निकै नाम कमाएका अशोक लेखनमा पनि उत्तिकै चासो राख्छन् । उनी गीतकार, कवि पनि हुन् । उनै बहुप्रतिभाका धनी अशोक शेचरन गभर्नर बनेर देशको बैंकिङ्ग क्षेत्रलाई आफ्नो ‘भिजन’अनुसार अघि लैजाने सोचमा छन् ।