देशकै पहिलो तेश्रो पक्ष भण्डारण सेवा परियोजना बन्ने, सिटिजन्स बैंकको अगुवाईमा ९५ करोड ऋण लगानी हुने


काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा माछापुच्छ्रे बैंक लिमिटेडसहित २ बैंकहरुले ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी नेपालमै पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजना आउने भएको छ । आइतबार प्रवर्द्धक कम्पनी उपाय वेयर हाउजिङ एवम् लगानीकर्ता बैंकहरुबीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा व्यवस्थापन भएको छ । उक्त परियोजना काभ्रेको बनेपा नगरपालिकामा पर्ने नासिका स्थान साँगामा निर्माण हुनेछ ।

परियोजनाको अनुमानित लागत करिब १ अर्ब २० करोड ७ लाख रुपैयाँमध्ये बैंकहरुले ८५ करोड रुपैयाँ बराबरको आवधिक कर्जा (निर्माण अवधिको ब्याजबाहेक) बढीमा ८०ः२० को ऋण स्वपूँजी रहने गरी लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंकबाट ६० करोड रुपैयाँ (आवधिक कर्जा ५० करोड रुपैयाँ, बैंक ग्यारेण्टी सुविधा ५ करोड रुपैयाँ र क्यास क्रेडिट कर्जा ५ करोड रुपैयाँ) र माछापुच्छ्रे बैंकबाट ३५ करोड रुपैयाँ (आवधिक कर्जा) लगानी हुनेछ भने बाँकी स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइनेछ । परियोजना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरी भण्डारण सेवा प्रदान गर्ने लक्ष्य रहेकोे छ ।

सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाई, सहअगुवाई तथा अन्य बैंकहरुसँगको सहवित्तीयकरण कर्जामार्फत जलविद्युत, हरित उर्जा, अस्पताल, उत्पादन तथा अन्य क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको बताए ।

प्रवद्र्धक कम्पनी उपाय वेयरहाउजिङका तर्फबाट अध्यक्ष सुमन रायमाझीले आगामी दुई वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी तेस्रो पक्ष भण्डारण सेवा, प्याकेजिङ सेवा, कार्यालय सामाग्रीको आपूर्ति तथा प्रबन्ध सेवा, लेवलिङ सेवा, ढुवानी सेवा तथा अन्य सम्पूर्ण सेवाहरु प्रदान गरिने जानकारी दिए ।

कम्पनीले आवश्यक सरकारी सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरेर आयोजना निर्माण शुरु गरी समयमै सम्पन्न हुने विश्वास उनको थियो । विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।