काठमाडौं– अभियान लघुवित्त संस्थाको पनौती शाखाले शनिवार पनौतीमा केन्द्रप्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पनौती शाखा अन्तर्गतका बिभिन्न केन्द्रका ६० जना केन्द्र प्रमुख, उपप्रमुखलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित केन्द्रप्रमुख मध्ये ज्येष्ठ केन्द्रप्रमुख कृष्णशोभा श्रेष्ठको सभापतित्व तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शाखाले हालसम्म गरेका कार्यहरु, शाखाको वर्तमान अवस्थाबारे पनौती शाखाका प्रमुख चन्द्रप्रसाद आयार्यले जानकारी गराएका थिए ।
प्रशिक्षण सत्रमा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले लघुवित्तको इतिहास, हालसम्म आइपुग्दा लघुवित्त कार्यक्रमले पुर्याएको योगदान, वित्तीय संस्थाको वर्तमान अवस्थालगायत विषयमा जानकारी गराएका थिए। त्यस्तै, विभागिय प्रमुख श्री इन्द्र प्रसाद पाण्डेले समुह निर्माणको प्रकृया, केन्द्र गठन प्रकृया, केन्द्र प्रमुख, उपप्रमुखको काम कर्तव्य तथा केन्द्र दायित्व वारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा उपस्थित केन्द्र प्रमुखहरुले यस क्षेत्रमा अभियान लघुवित्त संस्थाले ग्रामिण महिलाहरु तथा साना उद्यमीहरुको उद्यमसिलता विकासमा महत्वपूर्ण योगदान गरेको, न्यून आय भएका परिवारको दुखको साथी भएको भन्दै अझ प्रभावकारी सेवा प्रवाहमा जोड दिनको लागि सुझाव दिए।
कार्यक्रममा पनौती शाखा उत्कृष्ट केन्द्रहरु मध्ये प्रथम, द्वितीय, तृतीय हुन सफल भएका केन्द्रहरु र केहि सफल उद्यमीहरुलाई सम्मान गरिएको थियो। सहभागीहरुका अपेक्षाहरु र जिज्ञासाको समाधान विभागिय प्रमुख टोप बहादुर थापाले गरेका थिए।वित्तीय संस्थाका मुख्य प्रबन्धक कृष्ण बहादुर खड्काले सदस्यहरुलाई लिएको कर्जाको सही सदुपयोग गरी व्यवसायलाई सफल बनाउन सुझाव दिनुको साथै आफ्नो कर्जा तथा वचत कारोवारको वारेमा सदैव जानकार रहन आग्रह गरे।
प्रतिक्रिया