काठमाडौं – नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले दोस्रो राष्ट्रिय ‘इन्स्योरेन्स डिस्कोर्श २०२५’ को प्रतिवेदन बुझेका छन् । नवनियुक्त अध्यक्ष ओझाले बैंकिङ्ग समाचार र नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा आयोजित दोस्रो ‘इन्स्योरेन्स डिस्कोर्श, २०२५’को प्रतिवेदन बुझेका हुन् । बैंकिङ्ग समाचारकातर्फबाट प्रबन्ध निर्देशक राजु ढुंगेलले प्राधिकरण अध्यक्षलाई डिस्कोर्शको प्रतिवेदन बुझाए । बैंकिङ्ग समाचार र प्राधिकरणको संयुक्त आयोजनामा यही वर्ष २०८१ साल पुस २५ गते काठमाडौंको म्यारियटमा भएको थियो ।

डिस्कोर्शमा बीमा क्षेत्रको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशा तय गर्ने विषयमा केन्द्रति रहेर विभिन्न ४ सत्रमा गहन र वृहत् छलफल भएको थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा उद्घाटन गरिएकाे डिस्कोर्शको उद्घाटन सत्रमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल उद्योग परिसंघका अध्यक्ष लगायतको उपस्थिति थियो ।
डिस्कोर्शमा जीवन बिमा क्षेत्रको विकास र विस्तारका रणनीति तथा परिदृश्य, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरु, बीमामा प्रविधिको उदय, चुनौती, अवसर र नेपाली पुनर्बीमा बजारको सीमा विस्तार तथा व्यवसायमा वृद्धि नामक सत्र थिए । कार्यक्रमको मुख्य प्रायोजककारुपमा रिलायबल लाईफ तथा सन नेपाल लाईफ र सूर्यज्योती लाईफ पावर्डबाइ रहेको थियो ।

प्रतिवेदन बुझ्नेक्रममा अध्यक्ष ओझाले यस प्रकारको राष्ट्रियस्तरको बहस र छलफल कार्यक्रमले बीमा क्षेत्रको पहुँच विस्तार, समस्या र चुनौती पहिल्याउन तथा समग्र बीमा क्षेत्रको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यहीकारण, यस खालको कार्यक्रममा प्राधिकरणले सह–आयोजकको भूमिकामा रहँदै आएको उनको भनाइ छ । यस्तै, बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक ढुंगेलले देशको बीमा क्षेत्रको दिगो विकास, स्थायित्व र प्रवर्द्धन तथा ग्रामीण तहसम्म पहुँच विस्तारमा सकारात्मक भूमिका खेल्ने लक्ष्य रहेको बताए ।

यही लक्ष्यसहित २०८० सालदेखि राष्ट्रियस्तरको डिस्कोर्श आयोजना गरेर यो क्षेत्रको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने योजनासहित आगामी दिनमा पनि यस्तै राष्ट्रियस्तरको छलफल कार्यक्रमलाई निरन्तरता दिने बताए । यसअघि, पहिलो ‘इन्स्योरेन्स डिस्कोर्श, २०२४’ २०८० सालको भदौ १८ गते सम्पन्न भएको थियो । सो कार्यक्रमको प्रतिवेदन समेत बीमा प्राधिकरणसहित अर्थ मन्त्रालय लगायत विभिन्न स्थानमा बुझाइएको थियो ।

प्रतिक्रिया