यही चैत २४ गतेदेखि वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदैछ । २०७६ साल चैतमा १७औं गभर्नरकारुपमा नियुक्त भएका उनी यस वर्षदेखि बिदा हुँदैछन् । यससँगै, राज्यले १८औं गभर्नर पाउने निश्चित छ । नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएसँगै देशको समस्याग्रस्त अर्थतन्त्रलाई चलायमान बनाउने, समस्यापूर्ण स्थितिमा रहेका बैंक तथा वित्तीय संस्थालाई लयमा ल्याउनुपर्ने छ । यसबाहेक, विदेशी दातृनियकायले दिएको सुझावअनुसार देशको अर्थतन्त्र, बैंक तथा वित्तीय संस्थाको नियमन तथा ‘ग्रे लिस्ट’बाट निकाल्नुपर्ने छ । यसबाहेक, १० ठूला वाणिज्य बैंकको अन्तर्राष्ट्रिय अडिट समेत सक्नुपर्ने लगायतका अवस्था छ ।
यस्तो अवस्थामा १८औं गभर्नर बन्न बजारभरी आकांक्षी रहेको सुनिन्छ । ती आकांक्षीमध्ये भावी गभर्नर कस्तो हुनुपर्छ, गभर्नरको भूमिकामा के–के गर्नुपर्छ लगायत विषयमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँग ‘बैंकिङ्ग बहस’मा गरिएकाे कुराकानीको सम्पादित अंशः–
यतिबेला बजारभरी कयौं आकांक्षी गभर्नरको तयारीमा छन् । तर, केन्द्रीय बैंकमा लामो समय कार्यकारी बनेर सेवा निवृत्त हुनुभएका तपाईँको नाम सुनिएको छैन । तपाईँ दौडमा हुनुहुन्न ?
म गभर्नरको दौडमा छैन । म गभर्नरको दौडका लागि ‘क्वालिफाई’ गर्दिन । अहिले गभर्नर बनाउन लागिरहेको तत्त्वका आधारमा र समूहका आधारमा म तयार छैन । यसमा मेरो योग्यताको प्रश्न होइन, ‘सर्कमस्ट्यान्स’का आधारमा म तयार छैन । शक्ति केन्द्रले नचाहँदासम्म कुनै राष्ट्रको उच्च पद पाउन नेपालमा कठिन छ । यसैले खेलाडीको गोल चक्करमा छैन भने त्यो व्यक्तिले महत्वकांक्षा राख्नु अर्थ छैन । ऐनले तोकेका सर्तका आधारमा योग्य र खेलाडीको नजिक बसेका व्यक्ती चर्चामा छन् । तर, योग्यता भएको र खेलाडीको नजिक नरहेका व्यक्तीले यो पदमा दाबी गर्दैनन् ।
गभर्नर त गरिमामय पद हो । यो पदमा विगतदेखि नै यति धेरै आकांक्षी हुन्थे वा अहिले मात्रै यस्तो भएको हो ?
यो गरिमामय पद हो । अर्थतन्त्रको विकासमा गभर्नरको भूमिका महत्त्वपूर्ण भूमिका रहन्छ । यो गरिमामय पद र काम देखाउन सक्ने ठाउँ भएकाले आफू पनि चर्चामा आउने र ‘जब स्याटिस्फ्याक्सन’ पनि हुने भएकाले धेरैले इच्छा देखाएका हुन सक्छन् । यसबाहेक गभर्नरको पद ‘ग्ल्यामरस’ पद पनि हो । यही कारण, ऐनले तोकेका मापदण्डमा पर्नेहरूले दाबी गर्नु स्वाभाविक हो ।
तपाईँले भन्नुभएको तत्त्व वा समूह के हो ? यसबारे खुलाइदिनु न ।
यसमा दुई तीन वटा विषय छन् । पहिलो कुरा राजनीतिक दलको नजिक मात्रै भएर पुग्दैन, शीर्ष नेताको नजिक पनि हुनपर्छ । राजनीतिक दलको शीर्ष नेताको सम्बन्धमा भएको भएको व्यक्ती गभर्नरको दाबेदार हुन्छ । दोस्रोमा राजनीतिक दलमा रहेका विभिन्न खेमा हुन्छन् र ती खेमा पनि गभर्नर नियुक्तिमा समय–समयमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । सबैजसो सरकारी कार्यालयमा युनियनको दबदबा छ र उनीहरू राजनीतिक दलसँग नजिक हुन्छन् । ती युनियनहरूको चाहनाअनुसार सार्वजनिक पदको नियुक्तिका लागि सिफारिस पनि महत्त्वपूर्ण भूमिका हुन्छ । एउटा राजनीतिक दलसँग निकट युनियनले नच्यापेमा गभर्नरको पद फिक्का पर्छ ।
तेस्रो पक्ष बजारमा विभिन्न किसिमका खेलाडी हुन्छन् र उनीको सक्रियता तथा साथ चाहिन्छ । यी तीन वटा विषय गभर्नर नियुक्तिमा महत्त्वपूर्ण भूमिका रहन्छ र मैले यही विषयलाई तत्त्व र समूह भनेको हो । नेपालमा तत्कालीन अवस्थामा यीमध्ये कसैको साथ र सहयोगविना कार्यकारी पद प्राप्त गर्न र पदमा टिकिरहन सम्भव छैन । अन्यथा, नियुक्त भइहालेको अवस्थामा पनि मन्त्रीपरिषद् र मन्त्रीले दुःख दिएको दृष्टान्त पर्याप्त छन् ।
अब यतिबेला बजारमा गभर्नरको दौडमा रहेकामध्ये कति जना योग्य देख्नुहुन्छ ? कि दौडमा भएका सबै जना योग्य छन् ? कि गभर्नर पद सस्तो हुँदै गएको हो ?
गभर्नरको पद मात्रै नभएर अन्य कार्यकारी पदको गरिमा पनि घट्दै गएको देखिन्छ । व्यक्तिमा दोष लगाउन मिल्दैन । सबैजना योग्यता भएकै कारणले यो पदमा रुचि देखाउने हुन् । आफ्नो उच्च योग्यता सदुपयोग गरेर सो पदमा रहेर काम गर्ने हो । कुनै मानिस राम्रो वा नराम्रो भन्ने विषय सही नहुन सक्छ ।
ऐनले तोकेको मापदण्ड पुरा गरेको मान्छेले सहजै ढंगले काम गर्न सक्छ । गभर्नरको पदमा चाहना राख्नु आकांक्षीको हिसाबले राम्रो हो । तर, नियुक्तिको जुन माहौल र जुन स्थिति छ, यस आधारमा आकांक्षी चाहिँ बढेको हो । यसमा खेलाडीहरुसँगको हिमचिमका कारण पनि दाबी गर्न आड दिन्छ । बजारले आकांक्षीको महत्वकांक्षालाई राजनीतिक आडभरोसाले पनि बढाइदिइरहेको छ ।
अहिलेको यो समय एकदमै चुनौतीपूर्ण छ । अर्थतन्त्रका धेरैजसो सूचक नकारात्मक छन् । बैंक तथा वित्तीय संस्थाको अवस्था खराब बन्दै गइरहेको छ । यस्तो अवस्थामा कस्तो गभर्नर आउनुपर्छ ? कस्तो योग्यता चाहिएला ?
मलाई भावी गभर्नरमा दुई/तीन वटा योग्यता चाहिन्छ भन्ने लाग्छ । पहिलो विषय कानूनले तोकेका मापदण्ड पुरा भएको हुनैपर्छ। शैक्षिक योग्यता र कानूनी व्यवस्थाअनुसारको योग्यता भावी गभर्नरमा हुनुपर्छ । दोस्रो विषय भावी गभर्नर विवेकशील बन्नुपर्छ । उसले गभर्नरबाहेकको अन्य कुनै ‘ट्याग’ समात्नु हुँदैन । यसबाहेक, बजारले पत्याएको र विश्वासिलो व्यक्ती हुनुपर्छ ।
जो गभर्नर आएपनि नेपाल सरकारले विश्वास गरेर नियुक्ति दिए लगत्तै भावी गभर्नरले के –के गर्नुपर्छ ? जसले अर्थतन्त्रको वर्तमान स्थितिमा सुधार ल्याओस् ।
मन्त्रीपरिषद्को बैठकले निर्णय गरेर जिम्मेवारी पाइसकेपछि गभर्नरले सुरुमा दुई तीन वटा काम गरिहाल्नुपर्छ । राष्ट्र बैंक ऐन, २०५८ मा गभर्नरले गर्नुपर्ने कामहरूको ‘म्याण्डेट’ दिइएको छ । सोअनुसार गभर्नरले कानून बमोजिम काम गर्छु भनेर देखाउन सक्नुपर्छ । ताकि, बजारले गभर्नरप्रति विश्वास गर्न सुरु गरोस् ।
दोस्रो विषय वित्तीय क्षेत्रमा देखिएको समस्यामा ध्यान दिनुपर्छ । राष्ट्रिय अर्थतन्त्रभन्दा ठूलो आकारमा रहेको वित्तीय क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न सकिएको छैन । रेमिट्यान्सबाट आइरहेको वित्तीय स्रोतलाई बजारमार्फत राष्ट्रिय अर्थतन्त्रमा जोड्न थाल्नुपर्छ । यसबाट बैंक तथा वित्तीय संस्थाको वास्तविक वित्तीय विवरण बाहिर ल्याउन सक्नुपर्छ । यसोगर्दा बैंक तथा वित्तीय क्षेत्रको वास्तविक स्थिति बुझ्न सकिन्छ ।
भारतमा पछिल्लो डेढ दशकमा खराब कर्जा दुई पटक १५ प्रतिशत हाराहारीसम्म पुगेको थियो । उनीहरूले सही तथ्यांक बाहिर ल्याएर सुधारे । केन्द्रीय बैंकले भारत सरकारको सहयोग लियो र बजारको सुझाव मानेर त्यसलाई ठिक गरे । हामीले पनि यस्तै गरेर वित्तीय क्षेत्रमा रहेको विकराल अवस्थालाई वास्तविक तथ्यांक बाहिर निकालेर समस्या समाधानतर्फ लाग्नुपर्छ ।
प्रतिक्रिया