काठमाडौं – भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले ‘खोजमूलक पत्रकारिता फेलोसिप–२०८२’ घोषणा गरेको छ ।
देशमा भ्रष्टाचारले शासन प्रणालीलाई चुनौती दिइरहेको र नागरिकहरूले सुशासनको माग गरिरहेको वर्तमान अवस्थामा, पत्रकारितामार्फत प्रभावकारी आवाज उठाउने उद्देश्यसहित चारवटा फेलोसिप प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।
फेलोसिपका लागि इच्छुक पत्रकारहरूले २०८१ चैत मसान्तभित्र प्रस्ताव पेश गर्नुपर्नेछ । स्वीकृत भएका प्रस्तावहरूका आधारमा छनोट भएका पत्रकारहरूलाई जानकारी गराइनेछ । फेलोसिप अन्तर्गत तयार गरिने अनुसन्धान तथा खोजमूलक सामग्री २०८२ चैत मसान्तभित्र प्रकाशित भइसकेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
फाउन्डेसनले खोजमूलक पत्रकारिताको विकासमा टेवा पुर्याउने उद्देश्यले यो फेलोसिप ल्याएको हो । सम्पर्कका लागि फाउन्डेसनको कार्यालयलाई सचिवालयका रूपमा प्रयोग गरिनेछ ।
प्रतिक्रिया