काठमाडौं – यही चैत अन्तिम सातादेखि नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाउँदै छ । १७औँ गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै राष्ट्र बैंकले १८औँ गभर्नर पाउने निश्चित छ । गभर्नर अधिकारीको कार्यकाल सकिएसँगै नयाँ गभर्नर बन्नका लागि दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । जसमा अधिकारी आफैँसहित अन्य आकांक्षी छन् ।
केन्द्रीय बैंकबाटै झण्डै आधा दर्जन आकांक्षी बाहिर आएका छन् । दुई डेपुटी गभर्नरसहितका बहालवाला र पूर्व गरी यसपटक धेरै आकांक्षी राष्ट्र बैंकबाटै छन् । जसमध्येको एउटा चर्चित र बलियो नाम हो डा. प्रकाश कुमार श्रेष्ठ । राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. श्रेष्ठ यतिबेला राष्ट्रिय योजना आयोगमा कार्यरत छन् । सो भूमिका सकिएपछि आयोगमा सदस्यको भूमिकामा कार्यरत छन् ।
डा. श्रेष्ठ १८औँ गभर्नर बन्न जोड बल गरिरहेका छन् । आफ्ना सबैजसो प्रतिस्पर्धीलाई पन्छाउँदै भावी गभर्नरको भूमिकामा केन्द्रीय बैंक फर्कन उनी दौडमा छन् । डा.श्रेष्ठले राष्ट्रिय योजना आयोगसहित प्रदेश योजना आयोगको समेत अनुभव बटुलिसकेका छन् । श्रेष्ठले पाटन मल्टिपल क्याम्पसबाट अर्थशास्त्र र गणित विषयमा बीए गरेका छन् ।
सन् १९९६ मा अर्थशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको उपाधि प्राप्त गरेका श्रेष्ठले अस्ट्रेलियाको कर्टिन विश्वविद्यालयबाट सन् २००४ मा अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । यस्तै, वित्त विषयमा स्नातकोत्तर गर्नुका साथै तथा सन् २०१२ मा द न्यु स्कुल विश्वविद्यालय, न्यूयोर्कबाट विद्यावारिधि गरेका छन् ।
बैंकिङ्ग क्षेत्रको राम्रो अनुभव सँगालेका डा. प्रकाशले विभिन्न पुरस्कार र छात्रवृत्ति पनि प्राप्त गरिसकेका छन् । डा. श्रेष्ठले २७ वर्ष अघि सहायक निर्देशकको भूमिकामा राष्ट्र बैंकको जागिर सुरु गरेका थिए । उनले २०५४ साल मंसिर २३ गतेदेखि केन्द्रीय बैंकमा जागिर सुरु गरेका हुन् । राष्ट्र बैंक प्रवेशको ८ वर्षपछि उप निर्देशक पदमा बढुवा भएका डा. श्रेष्ठ त्यसको केही समयमा नै निर्देशक बने । राष्ट्र बैंकमा निर्देशकका रुपमा काम गर्दै गर्दा उनी सार्क फाइनान्सको समन्वयक समेत बनेका थिए ।
यस्तै, लुम्बिनी प्रदेश सरकारको अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार तथा सोही प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्ष बने । यस्तै, राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभाग लगायतको को कार्यकारी निर्देशक हुँदै विभिन्न विभागको नेतृत्व गरिसकेका छन् । बैंकिङ्ग क्षेत्रमा विज्ञता हासिल गरेका उनले अर्थमन्त्रीका सल्लाकारका रुपमा पनि काम गरिसकेका छन् ।
राष्ट्रिय बैंकिङ्ग इन्स्टिच्युटको अध्यक्ष, नेपाल धितोपत्र बोर्ड (सेबोन) सञ्चालक सदस्य बनेर काम गरिसकेका छन् । यस्तै, संयुक्त राष्ट्र संघको एशिया प्यासिफिक क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगमा अनुसन्धानकर्ताकारुपमा काम गरिसकेका छन्। यसबाहेक, उनले त्रिभुवन विश्वविद्यालयमा केन्द्रीय अर्थशास्त्र विभागमा एमफिल गरिरहेका विद्यार्थीहरूलाई वित्तीय अर्थशास्त्र अध्यापन समेत गराएका छन् भने ‘द न्यू स्कूल फर सोशल रिसर्च, न्यूयोर्क’मा शिक्षण सहयोगीको भूमिकामा काम गरेको अनुभव सँगालेका छन् ।
उनै डा. श्रेष्ठ प्रदेश योजना आयोग तथा राष्ट्रिय आयोगसँगै अर्थमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारकारुपमा गरेको कामको अनुभव लिएर गभर्नर बन्ने दौडमा छन् ।
प्रतिक्रिया