काठमाडौं – सिटिजन्स बैंकले २००औँ शाखा खोटाङको दिक्तेलमा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका– १ मा सञ्चालनमा ल्याएको हो ।
योसँगैे बैंकको २०० वटा शाखाहरू सञ्चालनमा आएका छन् । नयाँ शाखाको सञ्चालनसँगै कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरूको संख्या २८ पुगेको छ । शुक्रबार उक्त शाखा कार्यालयमा पूजापाठ गरी बैंकिङ्ग कारोबारको सुरुवात गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्याउने क्रममा खोटाङ दिक्तेलमा नयाँ शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने कुरा व्यक्त गरे । समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो ।
सुविधासम्पन्न यो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरू पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ । डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ ।
नयाँ शाखा शुभारम्भ भएको दिनमा नै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ९ मा सञ्चालनमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्पयुटर र प्रिन्टर सहयोग उपलब्ध गराएको छ ।
विद्यालयमा आयोजित कार्यक्रमबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोगस्वरूप सो सामग्री हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै उनले बैंकको यो सानो सहयोगले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू लाभान्वित हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया