काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पूर्ण काम छाडेर गभर्नरमा दोहोरिन आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेका छन् । यही चैत अन्तिम सातादेखि ५ वर्षे कार्यकाल सकिन लागेका गभर्नर अधिकारीले आफ्नो सम्पूर्ण ध्यान राष्ट्र बैंक दोहोरिनमा केन्द्रित गरेका हुन् ।
खासगरी, उनले यो अवधिमा राष्ट्र बैंकलाई प्रभावशाली बनाउने गरी भावी कार्य योजना बनाउनतर्फ लाउनुपर्ने हो । तर, पुनः दोहोरिने योजनासहित ‘फोर्स लिभ’मा बसेर शक्ति केन्द्र धाउँदै आएका हुन् । गभर्नरमा अधिकारी २०७६ चैत २१ गतेको मन्त्रीपरिषद्बाट नियुक्त भएका थिए ।
त्यसयता उनको कार्यकाल यही वर्ष सकिँदैछ । भावी गभर्नरकारुपमा अधिकारीसहित दजनौं व्यक्ती दौडमा छन् । गभर्नरमा अधिकारीसहित राष्ट्र बैंकका दुई डेपुटी गभर्नर, वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरू, अर्थशास्त्रीहरू र पूर्व सचिव तथा अन्य क्षेत्रका व्यक्तिहरू ‘लविइङ’ गर्दैछन् ।
प्रतिस्पर्धी धेरै भएका कारण सम्पूर्ण ध्यान केन्द्रीत गर्न अधिकारी ‘फोर्स लिभ’मा छन् । ‘फोर्स लिभ’मै रहँदा अधिकारी बुधबार राती बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग गोप्य भेटवार्ता गरे । भेटका लागि गभर्नर अधिकारी राती ८ बजे बालुवाटार छिरेका थिए भने १२ बजे निस्किए ।
त्यसक्रममा अधिकारीले आफू दोहोरिनका लागि छलफल गरेको बताइन्छ । प्रधानमन्त्री र अर्थमन्त्रीसँग ४ घण्टाको छलफलपछि गभर्नर अधिकारी निस्किए । नेकपा एमालेको संगठनमा एम. अधिकारीको नामसँग मिल्दोजुल्दो भएकाले अधिकारी नै उनै हुन समेत भनिन्छ ।
यसबहेक, पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग ‘ट्यूनिङ’ नमिलेका अधिकारीले पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतसँग समेत बठ्याँई गरे । जब, अर्थमन्त्रालयमा पौडेल फर्किए, त्यसपछि राष्ट्र बैंक र अर्थ मन्त्रालयको दूरी सहजैसँग घट्यो । यस आधारमा पनि पौडेल र अधिकारीको ट्यूनिङ मिलेको बताइन्छ ।
२०७६ सालमा प्रधानमन्त्री रहेका ओलीले नै गभर्नरमा अधिकारी नियुक्त गरेका थिए । अधिकारीको एमाले नेतृत्वसँग उच्चस्तरको सम्बन्ध रहेको समेत बताइन्छ । यहीकारण, गभर्नरमा पुनः अधिकारी नै फर्कन सक्ने अड्कलबाजी समेत बजारमा भइरहेको छ । यही आशंकाकाबीच मध्यरातमा प्रधानमन्त्री र अर्थमन्त्रीसँगको भेटबारे सूचना बाहिरिएपछि यो आशंकामा थप बल पुगेको छ ।
प्रतिक्रिया