काठमाडौं – नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई टेकओभर गरेको ३ महिना पुग्न लागेको छ । कर्णाली विकास बैंकलाई सञ्चालनका निम्ति नेपाल राष्ट्र बैंकले एक समूह नै बनाएर काम गर्दै आएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेर नै बैंक सञ्चालन गर्दै आएको हो ।
हाल नेपाल राष्ट्र बैंकको टोलीले बैंकको तरलता अवस्थालाई हरेर बचतकर्ताको बचत फिर्ता गराउने काम गर्दै आएको छ । बैंकमा संकलन हुने निक्षेप रोकेर कर्जा असुलीमा जोड दिएको उप निर्देशक खतिवडा बताउँछन् ।
तीन महिनामा ३० करोड भुक्तानी
केन्द्रीय बैंकले टेकओभर गरेको करिब ३ महिनामा कर्णाली विकास बैंकबाट ३० करोड रकम बराबरको रकम भुक्तानी भएको छ । बैंकले कर्जा असुलीको आधारमा बचतकर्ताको रकम फिर्ता गराएको हो । केन्द्रीय बैंकबाट परिचालित टोलीले कतिपय धितोलाई गैह्र बैंकिङ्ग सम्पत्तिको रुपमा पनि सकार्न थालेको छ ।
कर्णाली विकास बैंकमा तरलताको मात्रै समस्या नभई अन्य विभिन्न किसिमका समस्याहरु रहेकाले समस्या समाधानमा समय लाग्ने उप निर्देशक खतिवडाले बताए । केन्द्रीय बैंकले सानो सानो रकम भुक्तानी गर्दै आएको छ । यो समयमा कर्जा असली २३ करोडको भएको छ । बैंकको कर्जाको गुणस्तर नहुँदा कर्जा असुलीमा समस्या आएको छ ।
बचतकर्ताको निक्षेपको सुरक्षा र फिर्ता कसरी गर्ने भन्ने मुख्य चुनौती केन्द्रीय बैंकलाई छ । बचतकर्ताको निक्षेपको सुरक्षित गर्ने आधार बैंकको सम्पत्ति हो तर बैंकको सम्पत्ति भन्दा पनि बढी ऋण संकलन छ । ‘कर्जाको गुणस्तर खास राम्रो छै जसका कारण कर्जाको साँवा र ब्याजले सबै दायित्व भुक्तानी गर्न सक्ने अवस्था देखिदैन’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘हामीले निक्षेपकर्तालाई तपाईको निक्षेप फिर्ता दिन सक्छौं भन्ने विश्वासिलो आधार भएन ।’
यता केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हालसम्म पनि बैंकका सञ्चालक भेट्न सकेको छैन । सीआईबीले बैंकका सञ्चालक तिव्र रुपमा खोजिरहेको छ । राष्ट्र बैंकले बैंकका सञ्चालक खोज्ने काम सीआईबीलाई नै सुम्पिएर बसेको छ ।
प्रतिक्रिया