काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैतमा सकिँदैछ । यससँगै, देशले १८औँ गभर्नर पाउने निश्चित छ । २०७६ सालमा गभर्नरमा नियुक्त भएका अधिकारी यही चैतको २४ गतेदेखि बिदा हुँदै छन् । यद्यपि, दोस्रो कार्यकालका लागि समेत नियुक्त हुने बाटो अधिकारीलाई खुला छ ।
यहीकारण, अधिकारीसहित दजर्न व्यक्ती गभर्नरको दौडमा छन् । जसमा, राष्ट्र बैंककै डेपुटी गभर्नरहरू, विभिन्न वाणिज्य बैंकका प्रमुख कार्यकारीहरु, अर्थशास्त्रीहरु, योजना आयोग र लगानी बोर्डका पूर्व प्रमुखहरु र पूर्व सचिवहरु यो दौडमा छन् । भावी गभर्नरको दौडमा रहेकाहरुमध्येमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना पनि एक हुन् ।
ढुंगाना नेपाली कांग्रेस र यसमा पनि अर्बपति तथा प्रतिनिधिसभाका सांसद बिनोद चौधरीसँग निकट छन् । उनै चौधरीको मुख्य लगानी रहेको नबिल बैंकमा कार्यरत ढुंगाना गभर्नर नियुक्तीका लागि ‘लविइङ’मा छन् । संस्थापन समूहसँग निकट मानिने ढुंगाना नेपाली कांग्रेसको भागमा परेको खण्डमा गभर्नरको मूख्य दाबेदारकारुपमा देखिएका छन् ।
तेह्रथुममा जन्मेहुर्केका ढुंगानाले सोही जिल्लाको सदरमुकाम म्याङ्लुङस्थित सिंहबाहिनी माध्यमिक विद्यालयबाट विद्यालयतहको शिक्षा उर्तिण गरेका थिए । उनले ‘सेकेन्ड डिभिजन’बाटै तत्कालिन समयमा एलएलसीमा जिल्ला टप नै गरेका थिए । विद्यालय तहको अध्ययन सकेपछि ढुंगाना उच्च शिक्षाका लागि काठमाडौं छिरे र विभिन्न क्याम्पसमा अध्ययन गरे ।
विज्ञान पढ्ने रुची हुँदाहुँदै पनि ‘सेकेन्ड डिभिजन’का कारणले पढ्न पाएनन् र पुल्चोक क्याम्पसमा दिएको आवेदन स्वीकृत भएन । यसपछि कर्मस क्याम्पसमा समेत भर्ना हुन नसकेपछि शंकरदेव क्याम्पस छिर्ने योजना बनेपनि यता पनि भर्ना हुन सकेनन् । बाल्यकालमा इन्जिनियरिङमा रुचि राख्ने गरेपनि पुल्चोकले भर्ना नलिएपछि अन्ततः व्यवस्थापन संकायमा जोडिनुपर्ने बाध्यत्मक स्थितीमा उनी आइपुगे ।
तर, काठमाडौंका कुनैपनि कलेजमा भर्ना हुन नसकेपछि ढुंगाना धरान हानिएर कमर्स पढ्न थाले । बिकम गर्दैगर्दा चार्टर्ड एकाउन्टेन्सी पढ्दा धेरै आम्दानी गर्न सक्ने जानकारी पाएपछि सीए पढ्न भारततर्फ लागे । भारतमा सीए सकेर नेपाल फर्केपछि बैंकमा जागीर खान थाले । उनले अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर समेत गरेका छन् ।
बैंक अफ काठमाडौंबाट करिअर सुरु
ढुंगानाले बैंक अफ काठमाडौंबाट आफ्नो बैंकिङ्ग करिअर सुरु गरे । यसपछि नेपाल राष्ट्र बैंकका विभिन्न पदमा बसेर एक दशक समेत बिताएका उनले आफ्नो पदबाट राजीनामा दिएर तत्कालिन एनसीसी बैंकको महाप्रबन्धककारुपमा निजी बैंक छिरे। एनसीसी बैंकमा केही समय काम गरेपछि प्रमुख कार्यकारी अधिकृत बनेर नेपाल बंगलादेश पुगे ।
नेपाल बंगलादेश बैंक लिमिटेड नबिल बैंक लिमिटेडमा गाभिएपछि ढुंगानाले नबिल बैंकको सीईओको रुपमा एक कार्यकाल पूरा गरिसकेका छन् । ढुंगानाले नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षकारुपमा समेत काम गरिसकेका छन् । राष्ट्र बैंकमा दशक बिताउँदै राजीनामा दिएका उनै ढुंगाना यतिबेला फेरी गभर्नरको भूमिकामा राष्ट्र बैंक नै फर्कने ‘मूड’मा छन् ।
प्रतिक्रिया