अबको गभर्नरः जो चर्चामा छन्

१८औँ गभर्नरको दौडमा लगानी बोर्ड हाँकिसकेका सुशिल भट्ट

१८औँ गभर्नरको दौडमा लगानी बोर्ड हाँकिसकेका सुशिल भट्ट


काठमाडौं – यही चैत अन्तिम सातादेखि नेपाल राष्ट्र बैंकले १८औँ गभर्नर पाउँदै छ । वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै यही चैतदेखि राष्ट्र बैंकको नेतृत्वमा नयाँ व्यक्ती आउने निश्चित छ । यसका लागि सरकारले कामकारबाही अघि बढाइसकेको छ । मन्त्रीपरिषद्को बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति नै बनाइसकेको छ ।

यस्तो अवस्थामा बजारमा उल्लेख्य मात्रामा गभर्नरका आकांक्षी देखिएका छन् । धेरै आकांक्षी आफूलाई गभर्नरकारुपमा प्रस्तुत गर्दै आफ्नै ‘ब्राण्डिङ’ गर्दैछन् । यद्यपि, कतिपय योग्य व्यक्तिहरू पनि गभर्नरको दौडमा छन् । जसमध्येका एक नेपाल लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी सुशिल भट्ट पनि हुन् । भट्टले सन् २०२० देखि ४ वर्ष बोर्डको नेतृत्व सम्हाले ।

त्यसक्रममा बोर्डलाई संस्थागत बनाउँदै अर्बौँ डलरको लगानी स्वीकृत गरे । बोर्डमा नेतृत्व गर्ने क्रममा भट्टले ५.४ बिलियन अमेरिकी डलरभन्दा बढीको परियोजना स्वीकृत गरेर अघि बढाएका थिए । यसबाहेक, लगानी सम्मेलन, परियोजना बैंक लगायत समेत बनाए । विदेशी लगानीकर्ताका लागि सहजीकरण गर्दै नेपालमा ठुला लगानी भित्र्याउनका लागि उनले उल्लेख्य भूमिका खेले ।

भट्ट सुदूरपश्चिम प्रदेशको डडेलधुरा जिल्लामा जन्मिए हुर्केका हुन् । बोर्डको प्रमुख बन्नु अघि कयौँ संस्थामा भट्टले अनुभव बटुलेका छन् । उनले सन् २०१८ देखि २ वर्ष राष्ट्रिय योजना आयोगमा सदस्यकारुपमा समेत काम गरे ।

यसबाहेक उनले म्यानेजमेन्ट एसोसिएसन अफ नेपालमा समेत लामो समय बिताएका छन् । यस्तै, सन् २०१० देखि इन्फिनिटी होल्डिङ्समा प्राविधिक निर्देशक र राष्ट्रिय योजना आयोगमा सार्वजनिक निजी साझेदार विज्ञकारुपमा काम गरेको अनुभव समेत छ ।

यस्तै, सिद्धार्थ बैंकमा म्यानेजर बनेर काम गर्नुका साथै कुमारी बैंकमा मार्केटिङ हेड र पीआर रिलेसन डिपार्टमेन्टमा समेत काम गरेका थिए । त्यसअघि सन् २००३ देखि आफ्नो ‘करिअर’ सुरु गरेका भट्टले सुरुमा दानिडाडा/कैलाली रुरल इलेक्ट्रिफिकेशन प्रोजेक्टमा समेत काम गरेका थिए ।

तर, सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको भागबन्डा उनलाई भारी पर्न सक्छ । दिपक भट्टका दाइ समेत रहेका सुशिल भट्ट नेपाली काँग्रेसको संस्थापन समूह र सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । यस्तै, भट्टको गृह जिल्ला समेत डडेल्धुरा नै हो । उनै भट्ट १८औँ गभर्नरकारुपमा नोटमा हस्ताक्षर गर्ने योजनासहित ‘लविइङ’मा छन् ।