वाणिज्य बैंकहरूको कर्जा लगानी ४८ खर्ब नाघ्यो, कुनकाे कति ?

वाणिज्य बैंकहरूको कर्जा लगानी ४८ खर्ब नाघ्यो, कुनकाे कति ?


काठमाडौं – चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४८ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्म कर्जा ४५ खर्ब ७३ अर्ब १६ करोड रहेकाे लगानी ८ महिनाकाे अवधिमा ६.६ प्रतिशतले बढेकाे हाे। नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार समिक्षा अवधिमा एनआईसी एशिया बैंक, प्रभु बैंक र स्टान्डर्ड चार्टर्ड बैंकको कर्जा प्रवाह घट्दा बाँकी १७ बैंकको बढेको छ ।

तथ्यांकअनुसार ग्लोबल आईएमई बैंकको कर्जा प्रवाह सबैभन्दा धेरै ३९ अर्ब रुपैयाँले बढ्दै ४ खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । नबिल बैंकले सोही अवधिमा ४ खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यस अवधिमा ३ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा कुमारी बैंकले ३ खर्ब एक अर्ब रुपैयाँ लगानी गरेको छ ।

एभरेष्ट बैंकको कर्जा लगानीमा पनि उल्लेखनीय वृद्धि देखिएको छ । समिक्षा अवधिमा बैंकले २० प्रतिशतले कर्जा प्रवाह विस्तार गर्दै ३७ अर्ब ५८ करोड रुपैयाँ थप गरेको छ । याेसँगै बैंकको कुल कर्जा लगानी २ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी, एनएमबि बैंकले २ खर्ब ३३ अर्ब ७४ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १ खर्ब ४५ अर्ब १९ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ८९ अर्ब २० करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् । यस्तै, लक्ष्मी सनराइज बैंकले २ खर्ब ८४ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा नेपाल बैंकले २ खर्ब २५ अर्ब ६१ करोड रुपैयाँ, सानिमा बैंकले १ खर्ब ७९ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्।

समिक्षा अवधिमा सिटिजन्स बैंकले १ खर्ब ६९ अर्ब रुपैयाँ, नेपाल एसबीआई बैंकले १ खर्ब ३९ अर्ब ८५ करोड रुपैयाँ, हिमालयन बैंकले २ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ र कृषि विकास बैंकले २ खर्ब ८ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यस्तै, प्राइम कमर्सियल बैंकले २ खर्ब १५ अर्ब ७२ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ, कर्जा प्रवाह गरेका छन्।

यस्तै, साे अवधिमा एनआईसी एशिया बैंकको कर्जा प्रवाह ३५ अर्ब रुपैयाँले घट्दै २ खर्ब ४९अर्बमा खुम्चिएकाे छ । साे अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४.२७ प्रतिशत अर्थात् ३ अर्ब ८३ करोड रुपैयाँ घटेर ८५ अर्ब ८३ करोड रुपैयाँ र प्रभु बैंकको ०.५७ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड रुपैयाँ घटेर २ खर्ब ३४ अर्ब ५६ करोड रुपैयाँमा कर्जा लगानी खुम्चिएकाे छ ।