विद्यालयस्तरको पाठ्यक्रममा वित्तीय शिक्षा जोड्ने तयारीमा राष्ट्र बैंक

विद्यालयस्तरको पाठ्यक्रममा वित्तीय शिक्षा जोड्ने तयारीमा राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले विद्यालयस्तरको पाठ्यक्रममा वित्तीय शिक्षा जोड्न लागेको बताएको छ । गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको आयोजना सुरु भएको ग्लोबल मनी वीक कार्यक्रम उद्घाटन गर्दै वित्तीय शिक्षा विद्यार्थीहरूका लागि निकै आवश्यक रहेको भन्दै पाठ्यक्रममा नै पनि वित्तीय शिक्षा जोड्न लागेको बताएका हुन् ।

उनले बैंकहरूमा सञ्चालनमा रहेका खातालाई सक्रिय राख्न पनि ग्लोबल मनी वीकले सहयोग गर्ने बताए । ‘मनी वीकले ज्ञान बढाउँछ, व्यक्तिगत रूपमा पनि सुरक्षित हुने हुँदा राज्यलाई नै यसको प्रभाव पर्छ’ उनले भने, ‘विद्यालयको पाठ्यक्रममा नै पनि वित्तीय शिक्षा जोड्न लागेका छौँ हामीले पाठ्यक्रम विकास केन्द्रसँग अन्तरक्रिया पनि गरेका छौँ ।’

उनले आफ्नो बजेटमा पनि ख्याल गर्नुपर्ने भन्दै आफ्नो क्षमता हेरेर खर्च गर्नुपर्ने बताए । उनले बैंकमा विभिन्न किसिमका प्रडक्ट हुने भन्दै कर्जा लिने समयमा पनि बुझेर लिनुपर्ने बताए । गभर्नर अधिकारीले पछिल्लो चरण डिजिटल भुक्तानी बढ्दै गएको भन्दै राष्ट्र बैंकले प्राथमिकतामा राखेको बताएका हुन् । ‘डिजिटल कारोबार गर्दा कयौँ ठाउँमा ख्याल नगर्दा हामीले लस गर्नुपर्ने अवस्था छ त्यसैले हामी सुरक्षित हुनुपर्छ । त्यसो हुँदा हाम्रो खातामा भएको पैसा सुरक्षित हुन्छ ।’