तनावमा बैंकर

विदेशीन तँछाडमछाड गर्दै बैंकर, असुरक्षा र तनाव बढेपछि वर्ष दिनमा साढे ३ हजारले छाडे जागिर

विदेशीन तँछाडमछाड गर्दै बैंकर, असुरक्षा र तनाव बढेपछि वर्ष दिनमा साढे ३ हजारले छाडे जागिर

राष्ट्र बैंकका कार्यकारी निर्देशक नै भन्छन्, ‘देशमै बसेर गल्ती गरियो’


काठमाडौं – कोरोना महामारीयता बैंकका कर्मचारी आफ्नो कामप्रति नै असन्तुष्टि देखिन थालेका छन् । बैंकरहरुले बैंकिङ्ग क्षेत्रमा बढ्दो समस्या र ‘करिअर ग्रोथ’मा खास परिवर्तन नआएपछि आफ्नै कामप्रति असन्तुष्टि व्यक्त गर्न थालेका हुन् ।

काेरोना महामारीपछि विभिन्न प्रकारका समस्या उत्पन्न हुन थालेपछि बैंकको जागिर गर्नेहरू आज एयरपोर्टमा भेटिन थालेका छन्। कतिपय आफ्ना विभिन्न बाध्यताले बिदेसिए पनि पछिल्लो समय देखासिकी गरेर विदेशीनेहरू बढी रहेका जानकारहरू बताउँछन्। कतिपय भने आफ्नो कामप्रति सन्तुष्ट रहेको समयमा एक वर्षमा नै ३ हजार जना बढी कर्मचारीले बैंकिङ्ग क्षेत्र छाड्दा सबैको चासो त्यतातर्फ लागेको छ।

हरेक विषयको निसानामा बैंकिङ्ग क्षेत्र पर्दा यसप्रति कर्मचारीको रुचि घट्न थालेको हो । सहकारीको समस्या बैंकिङ्ग क्षेत्र, कुनै पार्टीका नेताका भ्रष्टाचारीको केशमा बैंक हुँदा हुँदै एक बैंकको १०/११ प्रतिशत शेयर रहेका सञ्चालकको कारण बैंक निसानामा पर्दै जाँदा बैंकमा काम गर्नेहरूले आफ्नो कामप्रति असन्तुष्ट जनाउने गरेको पाइन्छ । नेपाल बैकर्स संघको तथ्यांकअनुसार एक वर्षका बैंकिङ्ग क्षेत्र छाड्नेहरु ३ हजार ३५९ जना रहेका छन् ।

जसमध्ये, महिला कर्मचारी धेरै रहेको संघको तथ्यांकले देखाउँछ । सो समयमा २ हजार १९ जना महिला र १ हजार ३४० जना पुरुष कर्मचारी रहेका छन् । वाणिज्य बैंकमा कार्यरत कर्मचारी संख्या २०७९/८० मा ४४ हजार ९६२ जना रहेकोमा २०८०/८१ मा घटेर जम्मा ४१ हजार ६०३ जना रहेका छन् । यस तथ्यांकले पनि बैंकको जागिर सोचेको जस्तो नरहेको देखाउँछ ।

कार्यकारी निर्देशक नै छैनन् कामप्रति सन्तुष्ट

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पनि आफ्नो काममा सन्तुष्ट नरहेको पाइएको छ । बैंकिङ्ग समाचारसँग नाम नखुलाउने सर्तमा एक कार्यकारी निर्देशकले आफू कामप्रति सन्तुष्ट नरहेको बताएका हुन् । उनले हरेक विषयमा बैंकलाई नै तगारो बनाउँदा बैंकिङ्ग क्षेत्र प्रभावित बनेको बताएका हुन् । ‘पहिले यही केही गर्नुपर्छ भन्ने सोचेर बसियो ।’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘हाल हरेक कुरामा बैंकलाई नै जोडिएको हुन्छ यो निकै दुःखद कुरा हो ।’

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदमा कार्यरत कर्मचारीले नै देशमा बसेर गल्ती गरियो भन्दा बैंकिङ्ग क्षेत्रका कर्मचारी सन्तुष्ट नभएको प्रस्ट देखिएको हो । पछिल्लो चरण विभिन्न समूहले बैंकिङ्ग क्षेत्रमाथि गरेका हमलामा बैंकिङ्ग क्षेत्रका कर्मचारी निशानामा पर्न लागेसँगै उनीहरू काम नगर्नेसम्मको अवस्थामा पुगेका हुन् ।