अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै निगमले ह्वात्तै घटायो पेट्रोलियम पदार्थको मूल्य

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै निगमले ह्वात्तै घटायो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले आज राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा ह्वात्तै मूल्य घटाएको हो ।

निगमले दिएको जानकारीअनुसार पेट्रोल प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ४ रुपैयाँले घटेको छ । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । यस्तै, डिजेल र मट्टिेल प्रतिलिटर १५१ रुपैयाँ कायम भएको छ ।

यसबाहेक, पेट्रोल पहिलो वर्गमा १६० रुपैयाँ र दोस्रो वर्गमा १६२ रुपैयाँ प्रतिलिटर कायम छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १४८ रुपैयाँ र दोस्रो वर्गमा १५० रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको छ । कच्चा तेलसँग सम्बन्धीत जानकारी दिने वेभसाइट क्रुडआयल डटकमका अनुसार आज डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ६७ अमेरिकी डलर छ । यो जनवरी १५ मा ७८ अमेरिकी डलर प्रतिब्यारेल थियो ।

यस्तै, ब्रेन्ट आयलको मूल्य ७० अमेरिकी डलर प्रतिब्यारेल छ । यो जनवरी १५ मा प्रतिब्यारेल ८१ अमेरिकी डलर थियो । जनवरी १५ यताको मूल्यसूची तुलनामा गर्दा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको देखिन्छ ।