डिजिटल भुक्तानी गर्ने बढे, घट्दैछन् एटिएम प्रयोग गर्नेहरू

डिजिटल भुक्तानी गर्ने बढे, घट्दैछन् एटिएम प्रयोग गर्नेहरू


काठमाडौं – नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार गर्नेहरु बढेको उल्लेख गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले डिजिटल कारोबार गर्नेहरु बढेको देखिएको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार गत माघ महिनासम्ममा एक करोड २ लाख ५० हजार छ सय चार एटिएमबाट कारोबार गरेका छन् भने ५ करोड ९ लाख ८४ हजार २२ पटक भने मोबाइल बैंकिङ्ग प्रयोग गरेको पाइएको हो ।

यस्तै, राष्ट्र बैंकले चालु आर्थिक वर्षको माघ महिनामा ४ खर्ब ७ अर्ब ९३ करोड २० लाख मोबाइल बैंकिङ्गबाट कारोबार भएको देखाएकाे छ भने गत आर्थिक वर्षको माघ महिनासम्ममा मोबाइल बैंकिङ्गबाट २ खर्ब ८९ अर्ब ३७ करोड ७० लाखको कारोबार भएको देखिन्छ।

केन्द्रीय बैंकको यो तथ्यांकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ता बढ्दै गएको देखाउँछ । पछिल्लो समय प्रविधिमा भएको विकासले डिजिटल कारोबारमा ग्राहकको आकर्षण बढ्दै ष्एको हो । यता, एटिएमबाट हुने कारोबारमा भने कमी आएको छ ।

एटिएमबाट चालु आर्थिक वर्षको माघ महिनासम्म ८६ अर्ब ४७ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । गत आर्थिक वर्षको माघ महिनासम्ममा भने एटिएमबाट ८६ अर्ब ४८ करोड ५० लाखको कारोबार भएको थियो ।