राजनीतिको दूषित भिडमा सामेल भएर प्रदूषित नहुने निर्णय गरेः राधा पोखरेल  

राजनीतिको दूषित भिडमा सामेल भएर प्रदूषित नहुने निर्णय गरेः राधा पोखरेल  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन घोषणा सँगै स्वतन्त्र उम्मेदवारी दिनेहरुको भिडमा थिईन नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल । उनले निर्वाचनमा प्रतिस्पर्धा गर्ने भन्ने वित्तिकै सेयर बजार लगायतको क्षेत्र तातेको थियो तर अध्यक्ष पोखरेलले प्रतिनिधी सभाको निर्वाचनमा भाग नलिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत निर्वाचनमा भाग नलिने घोषणा गरेकी हुन् । ‘स्वस्थ र दूषित भिडमा सामेल भएर प्रदूषित नहुने निर्णय गर’े भन्दै घुमाउरो शैलीमा निर्वाचनमा भाग नलिने निर्णयमा पुगेकी हुन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्, ‘हाल देशको आर्थिक, सामाजिक, राजनीतिक लगायत विविध क्षेत्रमा देखिएका अनेकौं विकृति, विसंगति, स्वार्थपना, राष्ट्रियता र राष्ट्रहित विपरीतका गतिविधि, भ्रष्टाचार, कुशासन आदिले गर्दा नागरिकहरु वाक्क (दिक्क र निराश भएका छन् । देशको अर्थव्यवस्था दिन (दिनै कमजोर भई अर्थतन्त्रको भविष्य झन अन्यौल हुँदै गएको छ । यो विषम परिस्थितिमा आगामी मंसिर ४ गतेको निर्वाचन मार्फत नागरिकले परिवर्तनगामी, स्वच्छ, जोशिलो, इमानदार र विकासका पक्षधर यूवा प्रतिनिधित्वको अपेक्षा गरेका छन् । 

उल्लेखित अपेक्षा अनुसार मेरा इष्टमित्र, सहयात्री, शुभेच्छुक , समर्थक, सञ्चारकर्मी, सामाजिक व्यक्तित्वहरू र स्वस्फूर्तरूपमा अन्य महानुभावहरुले मलाई निरन्तर प्रतिनिधिसभाको उम्मेदवार बन्न बारम्बार सल्लाह, सुझाव र प्रेरणा दिइरहनु भएको थियो र अझै छ । 

मैले समाज र राष्ट्रका लागि आफ्नो क्षेत्रबाट देखाउँदै आएको सक्रियता, निभाउँदै आएको भूमिका, अभियान र खबरदारीको कदर गर्दै म प्रति देखाउनु भएको अटुट माया र विश्वास अनि निरन्तरको साथ, सहयोग, सल्लाह, शुभेच्छा, सद्भाव, समर्थन र सहभागीताको लागि व्यक्तिगत रूपले म जीवनभर ऋणी छु र यहाँहरूप्रति हृदय देखिनै हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु । 

एकातर्फ माथि उल्लेख भए अनुसारका विकृति, विसंगति र अर्काेतर्फ निर्वाचनको मुखमा देखिरहेको र देखिन सक्ने महँगो, अमर्यादित र अस्वस्थ प्रतिस्पर्धा, पुरानै अनुहारहरुले अनेक तिकडम गरेर नागरिकलाई भ्रममा पार्ने खेल, पार्टी र उम्मेदवारहरु बिचको एक आपसका आरोप प्रत्यारोप, चुनावी तालमेलका नाममा भएका भागबन्डा समेतको अस्वस्थ र दूषित भिडमा सामेल भएर प्रदूषित हुनु भन्दा यि तमाम विकृतिका विरुद्ध निरन्तर स्वतन्त्र ढङ्गले नै अभियान चलाउने प्रतिबद्धता व्यक्त गर्दै यसपटकको अर्थात् मंसिर ४ को निर्वाचनमा मैले उम्मेदवारी नदिने निर्णय गरेकी छु । 

मेरो यो निर्णयले इष्टमित्र, सहयात्री, शुभेच्छुक,समर्थक, सञ्चारकर्मी, सामाजिक व्यक्तित्वहरू र स्वस्फूर्तरूपमा अन्य महानुभावहरुलाई अलिकति पनि निरास नहुन अनुरोध गर्दछु । ढुक्क हुनुस्, उपयुक्त समयमा आवश्यक तयारी सहित यहाँहरूले म प्रति गर्नुभएको विश्वास र अपेक्षा अनि स्वस्फूर्त देखाउनु भएको शुभेच्छालाई सम्बोधन गर्नेगरी फर्कनेछु । र, यसपटकका लागि चाहिँ वर्तमान राजनीतिक परिदृश्यमा देखिएका प्रदुषणलाई सफा गर्न, समाज र राष्ट्रको विकास र सम्वृद्धिका लागि आश्वासन भन्दापनि विश्वसनीय ठोस एजेन्डाका साथ इमानदार भएर तपाईं हाम्रो घरदैलोमा आँखामा आँखा जुधाएर उपस्थित हुने कुनैपनि उम्मेदवारलाई व्यक्तिगत रूपमा मेरो पनि शुभकामना रहने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छु । 

मेरो उमेदवारी प्रतिको अपेक्षा, शुभेच्छा र समर्थन गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई पुनः हृदय देखि नै धन्यवाद दिँदै समाज र राष्ट्र उत्थानका लागि मेरा अभियानहरूमा हिजो झैँ साथ, सहयोग, सल्लाह, शुभेच्छा, शुभकामना सहितको सशक्त उपस्थिति निरन्तर राखिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।