शेयर बजारकाे ओरालो यात्रामा लाग्याे ब्रेकः १७ अंकले नेप्से बढ्दा ८ अर्बकाे काराेबार

‘बैंकिङ्ग समूह ७ दशमलव ३५ अंकले बढ्यो’


काठमाडौं – केही दिन यता निरन्तर घटिरहेकाे शेयर बजार आज (बुधबार) भने बढेकाे छ । आइतबार, सोमबार, मंगलबार लगातार घटेको शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार भने १७ दशमलव २८ अंकले बढेको हो । नेप्से बढेसँगै बजार २७ सय ३६ दशमलव ४८ को बिन्दुमा रोकिएर याे साताकाे लागि बजार बन्द भएकाे छ । भोलि फागु पूर्णिमाको अवसरमा सार्वजनकि बिदा हुने भएकाले बजार खुल्दैन ।

आज १४६ कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२३ कम्पनीको २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २३ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको संस्थापक शेयर किनबेच भएको छ । आज यस बैंकको ८१ करोड ३६ लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ । हिमालयन रिइन्स्योरेन्सको ५६ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४९ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ७९ प्रतिशतका दरले कमाएका छन् । प्रभु इन्स्योरेन्सका लगानीकर्ताले ७ दशलमव ८९ प्रतिशतका दरले कमाएका छन् । दिव्यश्वरी हाइड्रोका लगानीकर्ताले ७ दशलमव ६७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज ११ उपसूचक बढ्दा विकास बैंकको ०.३३ प्रतिशत र माइक्रोफाइनान्स समूहको ०.२७ प्रतिशतले शेयर मूल्य घटेको छ ।