चालु खाता १ खर्ब ६६ अर्ब, शोधान्तर स्थिति २ खर्ब ८४ अर्बले बचतमा


काठमाडौं – हाल चालु खाता १ खर्ब बढी र शाेधान्तर स्थिति २ खर्ब बढीले बचतमा रहेकाे छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो सात महिना (साउन–माघ) देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा आधारित तथ्यांकअनुसार हाल चालु खाता १ खर्ब ६६ अर्ब ८० करोड रुपैयाँले बचतमा रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २४ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ८० करोड  रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ७ अर्ब ४५ करोड रुपैयाँ  प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ५ अर्ब १९ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँ ले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ११ करोडले बचतमा रहेको छ ।