काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरू अप्ठ्यारोमा पर्ने बितिकै बैंकहरुले ऋण असुल्न हतार गर्ने गरेको आरोप लगाएका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बैंकहरुले खराब साहुको जस्तो व्यवहार गर्ने गरेको आरोप लगाएका हुन् ।
उनले बैंकहरुले उद्योगी व्यवसायी, कृषकहरूलाई उनीहरूको व्यापार, व्यवसाय टिकाउन मद्दत गर्नुको सट्टा घाटामा पर्न लागेको थाहा पाउने बित्तिकै कर्जा असुल्न हतार गर्ने गरेको बताए ।
प्रधानमन्त्री ओलीले भने,‘ बैंकहरुले खराब साहुको जस्तो व्यवहार गरिरहेका छन् । भन्दा खेरि खराब ऋणी भनेका हुन्छन् तर त्यहाँ साहु खराब हुन्छन् । जसले अप्ठ्यारो परेको बेला सहयोग गर्नुको सट्टा घाटी निचोर्ने काम गरेका हुन्छन् ।’
ओलीले थपे यस्ता कुराबाट हामी जोगिन पर्छ । प्रधानमन्त्री ओलीले थपे,‘ कर्जा असुल हुन्छ, तर तरिका जान्नुपर्याे, उसलाई त्यहाँबाट उतार्नु पर्यो उ डुबी हाल्यो भने कसरी रिटर्न हुन्छ? कहाँबाट तिर्छ, उसलाई उतार्नुपर्छ’ प्रधानमन्त्री ओलीले कोही पनि ऋणी डुब्न नचाहने पनि बताए । साथै, उनले तरलता बढिरहेको अवस्थामा उत्साहित व्यवसायीहरूले लगानी गर्दा विचार नपुर्याउँदा समेत लगानी डुब्ने बताए।
प्रतिक्रिया