एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त


काठमाडौं– एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले घिमिरेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत घिमिरेलाई बैंक सञ्चालक समितिले ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने भएको हो ।

हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको २ कार्यकाल पूरा गरि यही फागुन मसान्तमा बिदा हुने भएपछि घिमिरेलाई बैंकले सीईओमा नियुक्त गरेको हो ।

घिमिरेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर तथा कानूनमा स्नातकसम्मको अध्ययन गरेका छन्। घिमिरे कर्जा तथा ब्रान्च विशेषज्ञका रुपमा बैंकभित्र परिचित छन्। नेपाल बंगलादेश बैंकबाट करियर सुरु गरेका घिमिरे सन् २००९ बाट एनएमबि बैंकमा कार्यरत छन्।