जोखिम मोल्दै बीमा क्षेत्रमा पहिचान बनाउँदैछिन् रिता

जोखिम मोल्दै बीमा क्षेत्रमा पहिचान बनाउँदैछिन् रिता


काठमाडाैं – सिटिजन्स लाइफ इन्स्योरेन्सकी कर्पोरेट सेल्स हेड रिता पाठक, जो चितवनको रत्न नगरमा जन्मिहुर्किन् । सानैदेखि भाइबहिनी सम्हाल्ने जिम्मेवारी पाएकी उनी आफूले पाएको जिम्मेवारी सफलतापूर्वक पुरा गर्छिन् । घरकी जेठी छोरी आफ्ना भाइबहिनी सम्हाल्न पाठकलाई घरमा आमापछिको जिम्मेवारी थियो ।

मध्यम वर्गीय परिवारमा जन्मिएकाले उनले अध्ययनको सुरुवात सरकारी विद्यालयबाटै गरिन् । जुन, जिल्लाभरिकै उत्कृष्ट थियो । सानैदेखि पढाइमा अब्बल पाठकले सोही विद्यालयबाट विद्यालय तहको शिक्षा उर्तिण गरिन् । ‘त्यतिबेलाकाे समयमा एसएलसीको एकदमै कदर हुन्थ्यो, एकदमै कम विद्यार्थीले मात्र एसएलसी उत्तीर्ण गर्थे’ उनी भन्छिन् । १५ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेकी उनले एसएलसी उर्तीण गरेपछि जीवनको अर्को खुड्किला सुरु भयो ।

एसएलसीपछि उनका हजुरबुबा, बुबा मिलेर खोलेको कलेजमा उनी कमर्स विषयमा भर्ना भइन् । त्यहाँबाट उनले आइकम, विकम गरिन् । यी विषयमा पढाउने त्यतिबेला पूर्वी चितवनमा त्यो मात्रै एउटा कलेज थियो । उनी आइकम पढ्दा पढ्दै विवाह बन्धनमा बाँधिइन् । त्यसपछिको उनको बसाई सराई काठमाडौंमा भयो ।

विवाह गरेपछि शंखरदेव कलेजमा स्नातक पढ्न भर्ना भइन् र विवाह बन्धनमा बाँधिएपछि भने कलेज जाने समय निकाल्न सकिनन् । जस कारण, उनी परीक्षामा मात्रै कलेज जाने गरिन् । उनले पढाई सँगै अन्य क्रियाकलापमा पनि अघि नै थिइन् । यो बेलाको समयमा उनी लेडी राइडर थिइन् । खेलकुदमा पनि उनी अगाडी नै थिइन् । उनलाई जोखिम मोल्ने खालको कामहरू गर्न रुचाउने गर्थिन् । महिला भएर केही गर्न सक्दैनन् भन्ने समाजको मुख टालिदिने खालको उनको व्यक्तित्व थियो ।

उनको बिहे लगतै बच्चा जन्मिए । जसकाकारण आफ्नो करिअरबारे सोच्ने समय नै पाइनन् । उनले बच्चाप्रति आमाको जिम्मेवारीलाई पहिलो प्राथामिकतामा राखिन् । पहिले उनी पनि संयुक्त परिवारमा बस्दै आएकी थिइन् । श्रीमान् जागिरको सिलसिलामा बाहिर बस्ने हुँदा घर बनाउने जिम्मेवारी पनि उनले नै लिइन् । उनका बच्चा हुर्किँदै गएपछि बच्चालाई स्कुलमा हालेर बहिरी काममा लागिन् ।

उनको जीवनको २० त बीमा क्षेत्रमा बिताइन् । उनले बैंकमा काम गर्न पनि चाहेको थिइन् । उनले लोकसेवामा पनि परीक्षा दिइन्, तर उर्तिण भइनन् । बीमा क्षेत्रमा लागेका एक जनासँग उनले बीमाको बारेमा बुझ्ने अवसर पाइन् । समयको व्यवस्थापन हुने भएकाले बच्चाको लागि पनि समय पाउने भएपनि उनले आफ्नो कामको सुरुवात बीमाबाट गरेकी हुन् ।

उनले त्यसपछि सिटिजन लाइफ इन्स्योरेन्समा प्रवेश गरिन् । उनको बुझाइमा सुरुवाती चरणमा महिला भएर बीमा क्षेत्रमा काम गर्ने सजिलो थिएन । महिलामाथि हजारौँ प्रश्न आउने गरेको उनी बताउँछिन् । तर, बुझ्ने श्रीमान् भएकाले र काममा समर्थन जनाउने हुँदा उनलाई बीमामा काम गर्न सहज भयो । उनको बुझाइमा हाल धेरै सकारात्मक परिर्वतन भएको छ । उनले पहिले शैक्षिक क्षेत्रमा पनि भिन्नता रहेको बताउँदै काममा पनि भिन्नता रहेको थियो ।

बीमा क्षेत्रमा मार्केटिङ्गबाट प्रवेश गरेकी पाठकलाई उनलाई सो समयमा महिला भएर माकेटिङ्ग क्षेत्रमा काम गर्न सजिलो थिएन। बजारमा जाँदा उनले हजारौँ नकारात्मक प्रश्नहरू सामना गर्नुपर्‍यो । त्यसको प्रेसरले दिनको एउटा सिटामोल खाएर काम गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । आफ्नो जिम्मेवारी पूरा गर्न उनी लागि पर्ने स्वभावकी छिन् । उनलाई आफ्नो कामको धेरै माया लाग्ने गरेको बताउँछिन् । उनको बुझाइमा हरेक क्षेत्रका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छ ।

उनी आफ्नो जिम्मेवारीलाई वहन गर्ने सक्नुपर्ने बताउँछिन् । उनी बीमा क्षेत्रमा अहिले महिलाको लागि राम्रो अवसर रहेको बताउँछिन् । उनले हाल महिलाहरूले मिहिनेत पनि गरिरहेको बताइन् । अहिले सिटिजन्स लाइफमा ४० प्रतिशत महिलाहरू छन् । महिला भएर आफूलाई कमजोर सोच्न नहुने उनले बताउँछिन् । ‘हामी हाम्रो लागि आफै आफ्नो मिहिनेतबाट लक्ष्यमा पुग्न सक्छौ’ उनी भन्छिन् । महिलाहरू बहु प्रतिभाका खानी भएको उनी बताउँछिन् । महिलाहरूले आफूलाई माया गर्नुपर्ने, सम्मान गर्नुपर्ने उनको बुझाई छ ।

(मार्च ८ अर्थात् फागुन २४ गते रहेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंकिङ्ग समाचारले तयार पारेको साताव्यापी ‘विशेष श्रृङ्खला’मा बैंक तथा बीमा क्षेत्रका नेतृत्वदायी भूमिका र भिन्न पदमा रहेका महिलाहरुसँग गरिएको कुराकानीमा आधारित सामग्री -स.)