२ दशलमव ७० अंकले नेप्से घट्दा १० अर्बको कारोबार

‘बैंकिङ्ग समूह ० दशमलव ३ प्रतिशतले घट्यो’


काठमाडौं– साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा २ दशलमव ७० अंकले घटेर २,८१८ को विन्दुमा कायम भएको छ ।

आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब १० करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब १२ करोडको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ८ करोडको शेयर कारोबार भएको छ । एनआरएनको ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबेभन्दा धेरै गार्डियन माइक्रो लाइफ र भुगोल इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफको शेयर दोस्रो बजारमा कारोबारमा आएकै दिनबाट लगातार सकारात्मक सर्किट लागिरहेको छ ।

उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । राप्ती हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९१ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै नविल डिबेञ्चर २०८२ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।