सरकारले लियो बैकिङ्ग क्षेत्रबाट ५ खर्बभन्दा बढी ऋण

सरकारले लियो बैकिङ्ग क्षेत्रबाट ५ खर्बभन्दा बढी ऋण


बैकिङ्ग समाचार ।
सरकारले बैकिङ्ग क्षेत्रबाट कुल ५ खर्ब ९ अर्ब ४७ करोड ३६ लाख ऋण लिएको छ । चालु आर्थिक वर्षको जेठसम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाबाट सरकारले सो रकम ऋणको रुपमा लिएको हो । सरकारले लिएको सो ऋण कुल आन्तरिक ऋणको ८५.४९ प्रतिशत हो । बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गरेको ऋणमा सबैभन्दा बढी वाणिज्य बैंकको हिस्सा रहेको छ । 

कुल आन्तरिक ऋणमा ७८.२० प्रतिशत अर्थात हिस्सा वाणिज्य बैंकहरूको रहेको छ भने विकास बैंकको ५.१७ प्रतिशत रहेको छ । आगामी १४ वर्षसम्म फिर्ता गर्ने गरी सरकारले २७ वटा वाणिज्य बैंकबाट कुल ४ खर्ब ६६ अर्ब ५ करोड २३ लाख विभिन्न ऋणपत्रबाट ऋण उठाएको हो । विकास बैंकबाट ३० अर्ब ७९करोड २३ लाख ऋण उठाएको छ । फाइनान्स कम्पनीबाट १२ अर्ब ६२ करोड ऋण उठाएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र ऋणमा एनआरबी सेकेन्डरी मार्केटको हिस्सा १२.१७ प्रतिशत अर्थात ७५ अर्ब ७२ करोड ८७ लाख रहेको छ । 

सरकारले चालु आर्थिक वर्षको जेठसम्म ५ खर्ब ९५ अर्ब ९९ करोड ८८ लाख रुपैयाँ आन्तरिक ऋण उठाएको छ । गत पुससम्म ४ खर्ब ५० अर्ब ५६ करोड ७६ लाख आन्तरिक ऋण थियो । यो अवधिमा सरकारको आन्तरिक ऋण बढेर करिब ६ खर्ब पुग्न लागेको हो । माघयता ५ महिनाको समयमा १ खर्ब ४५ अर्ब ४३ करोड १२ लाख रुपैयाँ आन्तरिक ऋण उठाएको राष्ट्र बैंकले जानकारी दिएको छ । सरकारले आगामी १४ वर्षसम्म तिर्ने गरी सो ऋण लिएको हो । 
 

कुन शीर्षकमा कति ऋण ?

सरकारले विकास बचत पत्रमा  सबैभन्दा बढी ऋण उठाएको छ भने राष्ट्रिय बचतपत्रमा एक पैसा पनि ऋण लिएको छैन । चालु आवको जेठसम्म सरकारले विकास ऋणपत्रमार्फत  ३ खर्ब ८९ अर्ब ९४ करोड ऋण उठाएको छ । सो ऋण कुल ऋणको ६५ प्रतिशतभन्दा बढी हो । चालु आवको पुससम्म सरकारले यो शीर्षकमा आम जनतासँग २ खर्ब ९४ अर्ब ९४ करोड ७० लाख रुपैयाँ ऋण उठाएको थियो ।   सरकारले ट्रेजरी बिलमार्फत एक खर्ब ९७ अर्ब २१ करोड ८१ लाख रुपैयाँ उठाएको छ । गत पुससम्म एक खर्ब ४६ अर्ब ७९ करोड २९ लाख रहेको सो ऋण अहिले बढेर कुल आन्तरिक ऋणको ३३ प्रतिशतभन्दा बढी ऋण पुगेको हो । 

त्यस्तै सरकारले नागरिक बचत पत्रमा ८ अर्ब ३७ करोड ६२ लाख ऋण उठाएको छ भने वैदेशिक रोजगार बचतपत्रमा ४५करोड ७५ लाख ऋण उठाएको छ । पुसयता सरकारले नागरिक बचतपत्रमा ऋण उठाएको छैन भने वैदेशिक बचतपत्रमा ६० लाख ऋण उठाएको छ । पुससम्म यो बचत पत्रमा सरकारले जम्मा ४५ करोड १५ लाख ऋण उठाएको थियो  । 
 

कुन सालमा कति तिर्छ सरकारले ऋण ?

सरकारले ३५ अर्ब ६५ करोड ३१ लाख ऋण यहि आवमा तिर्नेछ भने आगामी आर्थिक वर्ष २०७७/०७८ मा १ खर्ब ७५ अर्ब २६ करोड २६ लाख ऋण तिर्नेे कार्यतालिका राष्ट्र बैंकले प्रकाशित गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा कुल ऋणको २९.४१ प्रतिशत ऋण तिर्ने बताएको छ । अहिले नै टाट पल्टिएको सरकारले कसरी पौने दुई खर्ब ऋण तिर्न सक्छ ? 

यो अत्यन्त सोचनीय  विषय छ । पूर्वनिर्धारित समयअनुसार आगामी आवमा एक खर्ब ७५ अर्बभन्दा बढी ऋण तिर्नुपर्ने छ । त्यसरी नै आव २०८१/८२ मा सरकारले कुल ऋणको १६.९७ प्रतिशत अर्थात एक खर्ब एक अर्ब १४ करोड १८ लाख ऋण तिर्ने भएको तालिका प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७९/८० मा ६५ अर्ब ८७ करोड ५९ लाख कर्जा तिर्ने भएको छ । सरकारले ऋण तिर्ने कुल १४ वर्षमध्य अन्य वर्ष भने १० प्रतिशतभन्दा कम ऋण तिर्ने बताइएको छ । 
कुन बैंकले कति ट्रेजरी बिल खरिद गरे

सरकारले ट्रेजरी बिलमार्फत उठाएको कुल एक खर्ब ९७ अर्ब २१ करोड ८१ लाख ऋणमा वाणिज्य बैंकको हिस्सा एक खर्ब ५७ अर्ब ९९ करोड रहेको छ । वाणिज्य बैंकतर्फ सबैभन्दा बढी ट्रेजरी बिल राष्ट्रिय वाणिज्य बैंकले खरिद गरेको छ भने लक्ष्मी बैंकले सबैभन्दा कम किनेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ५० अर्ब ९७ करोडको ट्रेजरी बिल खरिद गरेको छ । स्टाण्डर्ड चाटर्ड बैंकले १२ अर्ब चार करोड रुपैयाँको ट्रेजरी बिल खरिद गरेको छ ।

कृषि विकास बैंकले १० अर्ब २७ करोड, नेपाल एसबीआई बैंकले १० अर्ब २५ करोड, एभरेष्ट बैंकले १० अर्ब २२ करोड रुपैयाँको ट्रेजरी बिल किनेका छन् । नेपाल बैंकले ९ अर्ब ४७ करोड, नविल बैंकले ८ अर्ब १६ करोड रुपैयाँको ट्रेजरी बिल खरिद गरेको छ ।  अन्य बैंकले भने कुल ट्रेजरी बिलको ५ प्रतिशतभन्दा कम खरिद गरेका छन् । सरकारले आफ्नो आम्दानीबाट खर्च धान्न नसक्ने भएपछि विभिन्न मौद्रिक उपकरणहरूको प्रयोग गरेर आम जनता, बैकिङ्ग तथा गैर बैकिङ्ग क्षेत्रबाट ऋण उठाउने गर्छ । 

आर्थिक न्युज दैनिकमा प्रकाशित समाचार ।